काठमाण्डाैं- सरकारले चालु आर्थिक वर्षभर कुनै पनि सरकारी कार्यालयमा नयाँ स्थायी कर्मचारी भर्ना नगर्ने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको नेतृत्वमा बसेको सचिवहरूको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि कार्यालयले स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगमा माग नगर्ने निर्णय गरेको हो।
सरकारले मन्त्रालयको संख्या २२ बाट १८ मा झारेको, विभिन्न निकाय गाभिएको तथा नयाँ संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षणका कारण दरबन्दी घट्दा फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले नयाँ भर्ना अस्थायी रूपमा रोकिएको जनाएको छ। यस निर्णयले सरकारी सेवाको तयारी गरिरहेका हजारौँ अभ्यर्थी प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

