अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले हाल जारी वर्षाका कारण हुन सक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै सम्पूर्ण नगरवासीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।



नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै वर्षायाममा नगरपालिकाका विभिन्न स्थानहरूमा डुबान, कटान तथा अन्य दैवी प्रकोपको उच्च जोखिम रहने सम्भावना औंल्याएको हो। लगातारको वर्षाका कारण जुनसुकै समयमा पनि नदी, खोला तथा नालाहरूमा पानीको बहाव बढ्न सक्ने र बस्तीहरू डुबानमा पर्न सक्ने भएकाले नगरपालिकाले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।



त्यस्तै नगरपालिकाले प्रत्येक वडामा ब्याकहोलोडरको व्यवस्था गरेको छ । सम्भावित विपद् व्यवस्थापन तथा तत्काल उद्धार कार्यलाई सहज र प्रभावकारी बनाउन नगरपालिकाले पूर्वतयारी तीव्र पारेको छ। नगर प्रमुख हेमराज ओझाका अनुसार विपद्को समयमा तत्काल परिचालन गर्न सकिने गरी नगरपालिकाको प्रत्येक वडामा एक-एक वटा ब्याकहोलोडरको व्यवस्था गरिएको छ।
आवश्यकता परेको खण्डमा सम्बन्धित वडाका वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरूसँग समन्वय गरी उक्त उपकरण तत्काल प्रयोग गर्न सकिने ब्यहोरा नगरपालिकाले सूचना मार्फत सम्पूर्ण नगरवासीहरूलाई जानकारी गराएको छ।





