यातायात क्षेत्र सुधारका लागि स्वतन्त्र मजदुर संगठनद्वारा यातायात कार्यालय धनगढीलाई ध्यानाकर्षण पत्र

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री तथा श्रमिकमैत्री बनाउन माग गर्दै यातायात व्यवस्था कार्यालय धनगढीमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

प्रदेश अध्यक्ष ललित चन्दको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कार्यालय प्रमुख भुवन जोशीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै सेवाग्राहीले भोगिरहेका समस्या समाधान गर्न आवश्यक सुधारको माग गरेको हो। संगठनले कार्यालयमा हुने भीडभाड, बिचौलियाको प्रभाव, ढिलासुस्ती तथा अनावश्यक झन्झट अन्त्य गरी सेवा प्रवाहलाई छिटो, सहज, प्रभावकारी र पारदर्शी बनाउन आग्रह गरेको छ।

Navadurga sun

त्यस्तै, सेवा प्रवाहलाई आधुनिक प्रविधिसँग जोड्दै क्यासलेस प्रणाली प्रभावकारी रूपमा लागू गर्न, अनलाइन सेवाहरूलाई थप सुदृढ बनाउन तथा कर्मचारीको जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ। संगठनले यातायात क्षेत्रमा कार्यरत श्रमिकहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सवारी दर्ता, नवीकरण तथा अन्य प्रशासनिक कार्यका क्रममा सम्बन्धित व्यवसायीले आफ्ना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण अनिवार्य पेश गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरेको छ।

ध्यानाकर्षण पत्रमा नयाँ सवारीसाधन दर्ता तथा सञ्चालन अनुमति प्रदान गर्दा रुटको अवस्था, यात्रु चाप, स्थानीय आवश्यकता र सवारीसाधनको प्रकृतिलाई आधार बनाएर मात्र अनुमति दिनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। यसबाट यातायात क्षेत्रमा देखिएको अव्यवस्थित सञ्चालन र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण हुने विश्वास संगठनले व्यक्त गरेको छ।

कार्यक्रममा प्रदेश अध्यक्ष ललित चन्दले सार्वजनिक यातायात क्षेत्र देशको अर्थतन्त्र र जनजीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री हुनुपर्ने बताए। ध्यानाकर्षण पत्र बुझ्दै कार्यालय प्रमुख भुवन जोशीले संगठनले उठाएका मागहरू समयसापेक्ष, जायज र सान्दर्भिक रहेको बताउँदै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

ADD Khali jpg
ADD Khali jpg
Loading...