अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३० करोड ५ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।



नगरपालिकाको १७ औँ नगरसभाको बन्द सत्रको दोस्रो बैठकमा उपप्रमुख शारदा देवी रोकाया ले बजेट प्रस्तुत गरेकी हुन्। नगरप्रमुख वीरेन्द्र भट्ट को अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख प्रशासकीय अधिकृत, नगरसभा सदस्य, जनप्रतिनिधि, कर्मचारी तथा नगर प्रहरीको सहभागिता रहेको थियो।



प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँट, समपूरक, विशेष तथा सशर्त अनुदान गरी उल्लेख्य रकम प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट विभिन्न शीर्षकमा अनुदान प्राप्त हुने तथा आन्तरिक आय र बैंक मौज्दातसमेत समावेश गरी कुल आय १ अर्ब ३० करोड ५ लाख ८२ हजार रुपैयाँ रहने अनुमान गरिएको छ।
नगरपालिकाले कुल बजेटमध्ये पूर्वाधार विकासतर्फ ४२ करोड ३९ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ। सामाजिक विकासतर्फ १४ करोड २० लाख ५ हजार, आर्थिक विकासतर्फ २ करोड ३६ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ६५ लाख तथा सुशासन र संस्थागत विकासतर्फ ६८ लाख रुपैयाँ छुट्याइएको छ। कार्य सञ्चालन तथा प्रशासनिक खर्चका लागि ६९ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत पूर्वाधार विकास, सामाजिक सेवा प्रवाह, आर्थिक गतिविधिको विस्तार तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ।

