

अछाम- अछाममा आगामी असार ३ गते ‘रामारोशन स्काई रन’ प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा पहिलोपटक आधिकारिक स्काई रनिङ प्रतियोगिता हुन लागेको हो ।



समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ८५० मिटरसम्म फैलिएको रामारोशन क्षेत्रमा सञ्चालन हुने प्रतियोगितामा २८ किलोमिटरको स्काई रनिङ च्यालेन्ज खुला पुरुष तथा महिला विधा समावेश गरिएको छ । साथै स्थानीय युवालाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि ५ किलोमिटर सामुदायिक दौड पनि राखिएको छ ।


प्रतियोगितामा अधिकतम १०० जना सहभागी हुन पाउनेछन् । दर्ता शुल्क दुई हजार ५०० रुपैयाँ तोकिएको छ भने स्थानीयका लागि निःशुल्क व्यवस्था गरिएको छ। मुख्य दौडको कुल पुरस्कार राशि ७ लाख ५२ हजार रुपैयाँ रहेको छ । पुरुष तथा महिला दुवैतर्फ शीर्ष तीन विजेताले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै सबै सहभागीलाई प्रमाणपत्र तथा २८ किलोमिटर दौड पूरा गर्ने धावकलाई फिनिसर मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।