ईप्रका मालाखेतीमा डिएसपी चन्दको एक वर्ष: भन्सार छली र फरार प्रतिवादी पक्राउमा उल्लेख्य सफलता, चन्द डोटी सरुवा

अत्तरिया- ईलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियाले विगत एक वर्षको अवधिमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने कार्यमा उल्लेख्य सफलता हासिल गरेको छ। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रण बहादुर चन्दका अनुसार यस अवधिमा आर्थिक अपराध, लागुऔषध तस्करी र अदालत तथा कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान नै चलाएको थियो।

भर्खरै सार्वजनिक गरिएको वार्षिक प्रगति विवरण अनुसार प्रहरीले भन्सार छली गरेर अवैध रूपमा भित्र्याइएका रु १ करोड ७८ लाख ५७ हजार ८७० मूल्य बराबरका सामानहरू बरामद गरेको छ। यसका साथै वन पर्यावरण र प्राकृतिक स्रोतको अवैध दोहन रोक्ने क्रममा रु ८ लाख ९ हजारभन्दा बढीको अवैध काठ तथा गिट्टी–बालुवा उत्खनन गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याइएको डिएसपी चन्दले अनलाइन समाचारलाई जानकारी दिनुभयो।

Navadurga sun
Godawari sandesh

लागुऔषध र अवैध मदिरा विरुद्ध आक्रामक ‘एक्शन’

लागुऔषधको जालो तोड्न आक्रामक रूपमा प्रस्तुत भएको मालाखेती प्रहरीले १ वर्षमा ३९ वटा मुद्दा दर्ता गरी ६२ जना तस्कर तथा दुर्व्यसनीलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ९ किलो १३९ ग्राम चरेस, १० ग्राम ३१४ मिलिग्राम खैरो हेरोइन र ६५० थान प्रतिबन्धित क्याप्सुल बरामद गरिएको छ ।

यसैगरी, समाजमा हुने घरेलु हिंसा र अपराधको मुख्य जड मानिएको अवैध घरेलु मदिरा नष्ट गर्ने अभियान अन्तर्गत प्रहरीले १,७७७ लिटर तयारी मदिरा र ६,२०० लिटर कच्चा पदार्थ बरामद गरी स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरूको रोहवरमा नष्ट गरेको छ।

Dadeldhura hospital

फरार प्रतिवादीहरू फन्दामा, २४० मुद्दा फछ्र्यौट

कानुनको नजरबाट भागिरहेका अपराधीहरूलाई समात्न मालाखेती प्रहरी निकै सफल देखिएको छ। एक वर्षमा विभिन्न अपराधमा संलग्न कुल ३३५ जना (३१ महिला र ३०४ पुरुष) प्रतिवादीहरू पक्राउ परेका छन्।

फरार अपराधी पक्राउको तथ्याङ्क:

अदालतबाट सजाय तोकिएर फरार रहेका ३३८ जना मध्ये १०७ जना र कारागारबाट फरार रहेका ६७ जना मध्ये ३७ जना अपराधीलाई प्रहरीले देशका विभिन्न स्थानबाट समातेर कानुनी दायरामा ल्याएको छ।

कार्यालयका अनुसार यस अवधिमा कुल ३१४ वटा मुद्दा दर्ता भएकोमा २४० वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने बाँकी ७४ वटा मुद्दाहरू अनुसन्धान र प्रक्रियाको अन्तिम चरणमा रहेका छन्।

डिएसपी चन्दको डोटी सरुवा

आगामी दिनमा पनि शान्त र सुरक्षित समाज निर्माणका लागि मालाखेती प्रहरीको अभियान अझ मजबुत रूपमा अगाडि बढ्ने प्रतिबद्धता डिएसपी चन्दले व्यक्त गर्नुभएको छ। यसैबीच, ईलाका प्रहरी कार्यालय मालाखेतीमा सफल कार्यकाल पूरा गरी डिएसपी रण बहादुर चन्दको डोटी जिल्लामा सरुवा भएको छ।

Loading...