माग पूरा नभए शुक्लाफाँटा विस्थापितले निर्वाचन बहिष्कार गर्ने चेतावनी

कञ्चनपुर- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारहरूले आफ्ना माग पूरा नभए मत नखसाल्ने र निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । झन्डै चार सय परिवारका आठ सयभन्दा बढी मतदाताले आंशिक मागसमेत सम्बोधन नगरिए उम्मेदवारलाई मत नदिने निर्णय गरेका हुन् ।

हाल महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर बसोबास गर्दै आएका निकुञ्ज विस्थापितहरूले अस्थायी शिविर बसोबासका लागि प्रशासनबाट कागज बनाइदिन माग गर्दै आएका छन् । खानेपानी, शौचालयलगायतका आधारभूत सुविधासमेत नहुँदा कष्टकर जीवनयापन गर्नुपरेको उनीहरूको गुनासो छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

आरक्षपीडित जिल्ला संघर्ष समितिका संयोजक जयबहादुर रोकायाले प्रतिनिधि सभा निर्वाचनअघि नै अस्थायी बसोबासको व्यवस्था मिलाउन दलका प्रतिनिधि तथा उम्मेदवारसँग निरन्तर छलफल भइरहेको बताए । उनले भने, “विगतका आयोगले सिफारिस गरेका स्थानमा स्थानान्तरण गरिनुपर्छ । त्यो सम्भव नभए अस्थायी शिविर बसोबासको व्यवस्था गरिनुपर्छ ।”

कृष्णपुर नगरपालिका–१ स्थित जयशङ्कर सामुदायिक वन कञ्जकली क्षेत्रमा अस्थायी शिविर बसोबासका लागि प्रशासनबाट कागज बनाउन माग गरिएको संघर्ष समितिले जनाएको छ । माग पूरा नभए निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको पनि समितिले स्पष्ट पारेको छ ।

आरक्षपीडित शेरबहादुर चुनाराले विगतका निर्वाचनमा मत खसाल्दै आएको भए पनि पटक–पटकका झुटा आश्वासनका कारण अझै समस्या समाधान नभएको गुनासो गरे । उनले भने, “अब अस्थायी बसोबासको व्यवस्था मिलाउने र निर्वाचित भएपछि जमिन उपलब्ध गराउने उम्मेदवारलाई मात्रै मत दिन्छौं ।”

Loading...