अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २, अत्तरियास्थित सत्यवती एकेडेमीको आयोजनामा सम्पन्न प्रथम “सत्यवती छात्र फुटबल कप २०८२” प्रतियोगिताको उपाधि आयोजक सत्यवती एकेडेमी (वि) ले हात पारेको छ ।


कक्षा ६ भन्दा मुनिका विद्यार्थीहरूको सहभागितामा आयोजना गरिएको उक्त प्रतियोगितामा २३ विद्यालयका टिमहरू बीच प्रतिस्पर्धा भएको थियो । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक सत्यवती एकेडेमी “वि” र जमुनानगरस्थित समैजी माध्यमिक विद्यालयबीच रोमाञ्चक भिडन्त भएको थियो ।



खेलको पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा सत्यवती एकेडेमी (वि) ले निर्णायक गोल गर्दै अग्रता लिएको थियो । निर्धारित समयको अन्त्यसम्म १–० को नतिजा कायम राख्दै सत्यवती एकेडेमी (वि) प्रतियोगिताको विजेता बन्न सफल भयो ।
विजेता सत्यवती एकेडेमी (वि) ले २० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा मेडल प्राप्त गरेको छ भने उपविजेता समैजी माध्यमिक विद्यालयले १० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै अनुशासन, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता बुधबार औपचारिक रूपमा समापन गरिएको थियो ।





