कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीका किसानले अब वर्षभर सिँचाइको भरपर्दो सुविधा पाउने भएका छन् । सुदूरपश्चिम प्रदेश भूमिगत सिँचाइ कार्यालय धनगढीको सहयोगमा ५० लाखभन्दा बढी लागतमा जडान गरिएको डिप बोरिङ सञ्चालनमा आएसँगै स्थानीय किसानले नियमित रूपमा खेतसिँचाइ गर्न थालिएका छन् ।


शुक्लाफाँटा–१ का वडा अध्यक्ष उत्तरदेव भट्टका अनुसार डिप बोरिङ सञ्चालनमा आएपछि ६० बिघा जमिनमा सिँचाइ पुर्याउने पाइपलाइन, भल्भ र विद्युत् मोटर जडान गरिएको छ । “यसले करिब दुई सय किसान प्रत्यक्ष लाभान्वित भएका छन्,” उनले भने, “अब हिउँद–बर्खा कुनै पनि समयमा सहजै खेतमा पानी उपलब्ध छ ।”



पहिले सिँचाइको व्यवस्थित सुविधा नहुँदा किसानले पम्पसेटको सहायताले नदीबाट पानी तान्नुपर्ने र जेठ–वैशाखमा नदी सुक्ने बेला खेती सुक्ने समस्या रहेको किसान रतन चौधरी बताउँछन् । “अब नियमित सिँचाइ हुन थालेपछि तरकारी, धान र गहुँखेती विस्तार हुने विश्वास छ,” उनले बताए ।
नयाँ डिप बोरिङका कारण खेतअनुसार पानीको आपूर्ति सजिलो हुने, विद्युत् आपूर्तिमा समस्या आउँदा रोकिने सिँचाइ समस्यामा कमी आउने र उत्पादनमा उल्लेख्य वृद्धि हुने आशा किसानले व्यक्त गरेका छन् ।
वडा अध्यक्ष भट्टका अनुसार सिँचाइ सुविधा विस्तारसँगै व्यावसायिक तरकारीखेती र मत्स्य व्यावसायमा संलग्न किसानलाई पनि ठूलो राहत पुग्नेछ । प्राविधिकहरूका अनुसार डिप बोरिङ परीक्षण सफल भइसकेको र आवश्यकता अनुसार थप सुधार कार्य भइरहेको छ ।
योजना सुचारु सञ्चालनका लागि स्थानीयस्तरमै समन्वय समिति गठन गरिएको छ, जसले नियमित मर्मत, व्यवस्थापन र सञ्चालन जिम्मेवारी वहन गर्नेछ ।





