कञ्चनपुर- कञ्चनपुरमा यो वर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व शून्य दशमलव दुई प्रतिशतले बढेको छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदका अनुसार उन्नत जातका बीउबिजन र सिँचाइ सुविधाको विस्तारले उत्पादन वृद्धि गर्न सहयोग पुर्याएको हो । उनका अनुसार यस वर्ष जिल्लामा दुई लाख तीन हजार छ सय ८३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख ९३ हजार ९८४ मेट्रिक टन धान उत्पादन भएको थियो ।


उनले भने, “उन्नत बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा सुधार आएको हो ।” कृषि ज्ञान केन्द्रले अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएका क्षेत्रहरूमा साना सिँचाइ (ट्युवेल) जडानसमेत गर्दै आएको छ । गत वर्ष मात्रै केन्द्रले नौवटा स्थानीय तहमा ७७६ साना सिँचाइ उपकरण जडान गरेको थियो ।
कञ्चनपुरमा हाल ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । तीमध्ये ३९ हजार ६५० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ ।
महाकाली सिँचाइ आयोजनाको पहिलो चरण २०४२ सालमा सुरु भई २०४८ मा सम्पन्न भएको हो, जसबाट ४ हजार ८०० हेक्टर क्षेत्र सिँचित भएको छ । दोस्रो चरण २०५२ मा सम्पन्न भई थप ६ हजार ८०० हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका किसानले उक्त योजनाबाट प्रत्यक्ष लाभ लिएका छन् ।
स्थानीय किसानका अनुसार समयमै मल र पानी पाउन सके उत्पादन अझै बढाउन सकिन्छ । बेदकोट–९ सुन्दरपुरका किसान सागर रानाले भने, “यस वर्ष आकाशेपानी समयमा परेपछि बोरिङ प्रयोग गर्नुपरेन, उत्पादन पनि राम्रो भयो ।” अर्का किसान खुसी डगौराले पनि आकाशेपानी र समयमा मलखाद उपलब्ध भएकाले उत्पादन वृद्धि भएको बताए ।
