संघीय मातहतको डडेल्धुरा अस्पतालमा जनशक्ति र उपकरणको अभाव

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशमै संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालले चिकित्सक अभाव, बिग्रिएका उपकरण र कमजोर प्रशासनिक समन्वयका कारण आलोचना खेप्दै आएको छ । दरबन्दीअनुसारको जनशक्ति अभावले अस्पतालले प्रभावकारी सेवा दिन सकिरहेको छैन ।

एकातिर संघीय तहको अस्पतालका रूपमा चिनिएको यो अस्पतालले प्रदेशकै पहाडी सात जिल्लाका हजारौं बिरामीको उपचारको जिम्मेवारी बोकिरहेको छ भने अर्कोतिर बिरामीलाई ‘रेफर’ गर्ने बाध्यता अस्पतालको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा चिकित्सक अभावका कारण बिरामीले गुणस्तरीय उपचार पाउन सकेका छैनन्। सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको यो अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालले सामान्य बिरामीलाई पनि रेफर गरिरहेको छ ।

सुदूरपश्चिमकै संघीय सरकार मातहत सञ्चालनमा रहेको यो अस्पतालमा दैनिक तीन सयको हाराहारीमा बिरामी ओपीडीमा आउने गर्छन् । तर, सामान्य स्वास्थ्य परीक्षणका लागि समेत बिरामी धनगढी लगायतका अस्पतालमा जान बाध्य छन् ।

अस्पतालमा अहिले १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तर, तीमध्ये १८ जना चिकित्सकको अभाव छ । हाल अस्पतालमा एक जना मात्रै विशेषज्ञ चिकित्सक कार्यरत छन् भने मेडिकल अधिकृत तहका चिकित्सक पनि पर्याप्त छैनन् । अस्पतालमा बिरामीले गुणस्तरीय उपचार सेवा पाउन सकिरहेका छैनन् । अस्पतालमा दरबन्दी अनुसार चिकित्सक पदपूर्ति अभाव हुँदा उपचार पाउन असहज भएको हो । अस्पतालले सामान्य बिरामीलाई पनि रेफर गर्ने गरेकामा बिरामीलाई सास्ती हुने गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनाल विशेषज्ञ चिकित्सकहरू नहुँदा सेवाग्राहीका गुनासा आउनु स्वाभाविक रहेको बताउँछन । भन्छन्, ‘हामीसँग दरबन्दी धेरै छ, तर पदपूर्ति छैन । बालरोग, छाला तथा यौनरोग र नाक–कान–घाँटी रोग विशेषज्ञ नभएकाले सामान्य उपचारका केसबाहेक बिरामीलाई रेफर गर्नुपर्ने अवस्था छ ।’

अस्पतालमा विशेषज्ञ र मेडिकल अधिकृत तहका चिकित्सक नहुँदा कतिपय बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेसु खनाल बताउँछन् । उनका अनुसार चिकित्सक अभावकै कारण कतिपय बिरामीलाई अन्य अस्पतालमा पठाउनु परेको छ ।

अमरगढी नगरपालिका–१० का रामबहादुर सार्की चाडपर्वका बेला विदेशबाट घर फर्किएका थिए । उनका ७० वर्षीय बुबालाई लडेर चोट लागेपछि तत्काल अस्पताल पुर्‍याए । तर, यहाँ उपचार नहुने भन्दै चिकित्सकले धनगढी लग्न सुझाव दिएको उनले बताए । ‘रेफरल अस्पतालमा सामान्य उपचार पनि नहुँदो रहेछ, दुःख लाग्यो । अस्पतालमा बिरामीभन्दा पनि समस्या धेरै छन्,’ उनले दुखेसो पोखे ।

Dadeldhura hospital

आलिताल गाउँपालिका–२ की जानकी भट्ट खुट्टा दुख्ने समस्या लिएर अस्पताल पुगेकी थिइन् । चिकित्सकले सामान्य औषधि दिएर घर पठाइदिए । ‘हामी गाउँका गरिब मान्छे हौं,’ उनले भनिन्, ‘धनगढी जान सकिन्न भनेर यहाँ आएका थियौं । तर यहाँबाट त उल्टै धनगढी जान सल्लाह दिइयो ।’

अस्पतालको एक्स–रे मेसिन पटक–पटक बिग्रिँदा बिरामीले सास्ती खेप्नुपरेको छ । दैनिक सयौं बिरामी आउने यो अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गर्न पनि कठिनाइ भएको छ । डा. खनालले पुरानो मेसिन बारम्बार बिग्रिँदा सेवामा असर पर्ने गरेको बताए ।

उनले मर्मतका लागि दक्ष प्राविधिक डडेल्धुरामै नभएकाले धनगढी वा काठमाडौंबाट बोलाउनु पर्ने हुँदा कहिलेकाहीँ सेवा अवरुद्ध हुने बताए । उनले केही उपकरण बिग्रिँदा सेवा अवरुद्ध हुने गरेको पनि सुनाए । बिग्रेका मेसिन मर्मत गर्नका लागि दक्ष प्राविधिकको अभावमा लामो समयसम्म सेवा अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

एक्सरे गर्ने उपकरणमा पटक–पटक समस्या आइरहेका कारण सेवाग्राहीले दुःख भोगिरहेकाले अस्पतालले हाल नयाँ एक्स–रे मेसिन खरिद प्रक्रियामा रहेको र आगामी एक महिनाभित्र सञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ । तर अहिले त्यही मेसिन प्रयोग गरेर सामान्य परीक्षण भने भइरहेको डा. खनालले बताए ।

लामो समय निष्क्रियजस्तै रहेको सिटी स्क्यान मेसिन अहिले सञ्चालनमा आएको छ । अघिल्लो वर्षसम्म रेडियोलोजिस्ट चिकित्सक नहुँदा यहाँ सिटी स्क्यान गरेर रिपोर्ट चितवन पठाउनु पर्ने बाध्यता थियो । रिपोर्ट आउन हप्तौं लाग्ने हुँदा आपत्कालीन बिरामीको उपचारमा जोखिम बढ्ने समस्या रहँदै आएको थियो । तर अहिले रेडियोलोजिस्ट चिकित्सक उपलब्ध भएपछि सिटी स्क्यान सेवामा सुधार भएको छ । यद्यपि, कहिलेकाहीँ प्राविधिक समस्या आउँदा सिटी स्क्यान सेवा अस्थायी रूपमा रोकिनुपर्ने अवस्था अझै छ ।

‘विगतमा रेडियोलोजिस्ट चिकित्सक नहुँदा यहाँ सिटी गरेर रिपोर्टका लागि इमेलमार्फत चितवन पठाउनु पर्ने बाध्यता थियो । जसका कारण रिपोर्ट आउन ढिला हुन्थ्यो,’ डा. खनालले भने, ‘अहिले रेडियोलोजिस्ट चिकित्सक उपलब्ध भएकाले सबै सेवा यहीँबाट दिइरहेका छौं ।’ कहिलेकाहीँ प्राविधिक समस्याका कारण सेवा प्रभावमा समस्या हुने गरेको उनले स्वीकार गरे ।

स्थानीयले अस्पताल व्यवस्थापनप्रति आलोचना गरिरहँदा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले अस्पतालप्रति नकारात्मक टिप्पणी मात्रै बढिरहेको बताए । गुनासो मात्रै गर्नुभन्दा अस्पतालबाट प्रदान भइरहेका सेवाबारे सबैले जानकारी लिनुपर्ने उनको भनाइ छ ।

अस्पतालमा स्थायी दरबन्दी १ सय ९ जना, अस्थायी ३ सय १३ जना र विकास समितिबाट ४५ जना रहेका छन् । तर विकास समितिबाहेक अन्य दरबन्दीमा ठूलो रिक्तता छ । सरकारी करारतर्फ १ सय ३३ जनाको दरबन्दी भए पनि केवल ४४ जना मात्र कार्यरत छन् । यस्तै २१ जना कर्मचारी काजमा अन्यत्र गएका छन् ।

अस्पताल प्रशासनले बिरामीका गुनासालाई सुधारको अवसरका रूपमा लिएको जनाएको छ । डडेल्धुरा अस्पताल सुदूरपश्चिमका पहाडी सात जिल्लाका बिरामीको मुख्य गन्तव्य हो । डडेल्धुरासहित बझाङ, बाजुरा, बैतडी, दार्चुला, अछाम र डोटीका बिरामी उपचारका लागि यही अस्पतालमा आउने गर्छन् । कान्तिपुरबाट

Loading...