

धनगढी- कैलाली उद्योग वाणिज्य संघको ५१औँ साधारणसभा तथा चुनावी अधिवेशन आगामी असोज २५ गते धनगढीमा हुने भएको छ । भदौ २८ गतेका लागि तय गरिएको अधिवेशन जेनजी आन्दोलनपछि लागु भएको कफ्र्युका कारण स्थगित गरिएको थियो ।



सर्वपक्षीय बैठकले दसैं–तिहारको बीचमा नयाँ मिति तय गरेको अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिएका छन्। उनले भिडियो सन्देशमार्फत सबै उद्योगी व्यवसायीलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।


संघको २२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दिएका छन्। अन्य पदका लागि छ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।
संघका दुई हजार २७४ सदस्यले मतदानमा भाग लिन पाउनेछन्। अधिवेशनले संघको आगामी कार्ययोजना र नेतृत्वको निर्णय गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।