


अत्तरिया- दशैं, तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन्।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले उपभोक्तालाई चाडपर्वमा आवश्यक उपभोग्य सामग्री सस्तो दरमा उपलब्ध गराउन सुपथ मूल्य पसल सुरु गरेका हुन्।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार सुदूरपश्चिमका २८ स्थानमा पसल सञ्चालन हुँदैछ। कम्पनीले दुई प्रकारका चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध गराउने जनाएको छ। ‘सेवाग्राहीले नजिकैको सुपथ मूल्य पसलबाट सेवा लिन सक्नेछन्,’ उनले बताए।

कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगरमा पसल सञ्चालन हुनेछन्। त्यस्तै, बाजुराको मार्तडी, कोल्टी, धुलाचौर, बिच्छाया र पाण्डुसैनमा पनि पसल सञ्चालन हुने व्यवस्था गरिएको छ। बैतडीको गोठालापानी, परचौडीहाट, रोलेश्वर, आम्चौरा र दोगडाकेदारमा, दार्चुलाको सुनकेसरा, हिकिला, खण्डेश्वरी र शाखा कार्यालयमा तथा अछामको मङ्गलसेन, सैनाबजार, साफेबगर र कमल बजारमा पनि सुपथ मूल्य पसल सञ्चालन हुनेछन्।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। कर्पोरेसनका सुदूरपश्चिम कार्यालय प्रमुख तेजबहादुर कुँवरका अनुसार नुनमा प्रतिकिलो दुई, चिनीमा प्रतिकिलो पाँच र तेल, चिउरा, पीठो, मैदा तथा दालमा प्रतिकिलो सात रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ।
साल्ट ट्रेडिङले डडेलधुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।
सुपथ मूल्य पसल सञ्चालनले पर्वका बेला बजारमा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न र सर्वसाधारणलाई राहत पुर्याउने अपेक्षा गरिएको छ।





