धनगढी- धनगढी उपमहानगरपालिकाले अत्याधुनिक दमकल सार्वजनिक गरेको छ। बुधवार एक विशेष समारोहका बीच नगर प्रमुख गोपाल हमालले दमकल उद्घाटन गरेका हुन्।



पाँच हजार लिटर पानी अटाउने क्षमतासहितको उक्त दमकलमा रसायन राख्ने सुविधा पनि छ, जसको प्रयोग आगलागी नियन्त्रणमा हुनेछ। नगर प्रमुख हमालका अनुसार उपमहानगरपालिकाले नगरका आठ स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिसकेको छ, जसले दमकलमा पानी भर्न सहज बनाउनेछ।


“हरघडी नगर प्रहरी” भन्ने नारालाई व्यवहारिक बनाउँदै विपद् व्यवस्थापनमा धनगढीको लगानी र पूर्वतयारी सुदूरपश्चिममै अब्बल रहेको उल्लेख गर्दै नगर प्रमुख हमालले आगलागीको खबर पाएको तीन मिनेटभित्र दमकल परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। धनगढी उपमहानगरपालिकाले फर्मसहितको नयाँ प्रविधि युक्त दमकल खरिदमा ६६ लाख खर्च भएको बताएको छ।





