

अत्तरिया- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज गेटा अस्पतालमा सञ्चालनमा आइसकेको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने तयारी गरे पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले त्यस प्रति विरोध जनाएको छ ।



समितिले आज विश्वविद्यालय परिसरमा भेला भएर मन्त्रीको उद्घाटन कार्यक्रम विरुद्ध प्रदर्शन गरेको हो । गेटा अस्पतालले जेठ ११ गतेदेखि नै १० बेड सहित आकस्मिक सेवा सञ्चालनमा ल्याइसकेको छ ।


संघर्ष समितिले दुई महिना देखि सञ्चालनमा आइसकेको सेवाको देखावटी उद्घाटन नगर्न चेतावनी दिँदै मन्त्रीलाई अनुगमन मात्र गर्न आग्रह गरेको छ । समितिका संयोजक लोक राज पाण्डे ‘आगो’ ले अर्बौँ लगानीमा बनेका संरचना अलपत्र पारेर व्यक्तिगत स्वार्थका लागि नाटक मञ्चन नगरी वास्तविक काममा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।