


अत्तरिया- सुदूरपश्चिम प्रदेशमा भोलि (आइतबार) सार्वजनिक बिदा दिइएको छ । भोलि भदौ १ गते आइतवार ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।


ओल्के पर्वको अवसरमा बिदा दिइएको सूचना राजपत्रमा उल्लेख गरिएको छ । भदौ संक्रान्तिलाई सुदूरपश्चिममा ओल्के सक्रान्तिका रुपमा मनाउने गरिएको छ।



ओल्के पर्वका दिनमा मिठोमसिनो खाने, आफन्तजनहरुलाई कोसेली दिने परम्परा रही आएको छ । पिँडालुको कलिलो पात, दूध, दही लगायत वस्तु सम्मान स्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर सुदूरपश्चिममा ओल्के मनाइन्छ ।
ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो । ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ ।
यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ । यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन् । यसलाई ‘बूढी पोल्ने’ भनिन्छ ।






