

अत्तरिया- सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षे प्रगति सार्वजनिक गरेको छ । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको एक वर्षे उपलब्धी सार्वजनिक गरेका हुन् ।


प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारले एक बर्षको अवधिमा १ सय ६ किलोमिटर सडक कालोपत्र गरेको बताए । उनले उक्त अवधिमा प्रदेश सरकारले १ सय ३ किलोमिटर ग्राभेल र १ सय ४६ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न गरेको जानकारी दिए ।


त्यस्तै, सतही, भूमिगत र नयाँ प्रविधिमा आधारित सिंचाई प्रणालीबाट १ हजार ६२८ हेक्टर जमिनमा सिंचाई सुविधा थप गरिएको र मर्मत कार्यबाट १३ हजार ९४७ हेक्टर जमिनको सिंचाई सुविधालाई पुनःस्थापना गरिएको प्रदेश सरकारको कार्य प्रगतिमा उल्लेख छ ।
बाढीबाट बस्ती तथा खेतीयोग्य भूमि जोगाउन २७ किलोमिटर तटबन्ध निर्माण र २७ हेक्टर जग्गा नदी उकासबाट प्राप्त भएको जनाइएको छ ।

एक वर्षको अवधिमा प्रदेश सरकारले खानेपानीका ८ सय ४१ इन्टेक जडान, ५ सय १६ पोखरी निर्माण, २ हजार १३३ किलोमिटर पाइपलाईन जडान,११ हजार ९३९ निजी धारा जडान सम्पन्न भएको छ मुख्यमन्त्री शाहले जानकारी दिए ।
एक बर्षमा प्रदेशमा १४ हजार ७३२ सवारी साधन दर्ता भइ कूल २ लाख २१ हजार ४६४ पुगेको र पछिल्लो एक बर्षमा १८ हजार ५४५ नयाँ सवारी चालक अनुमति पत्र जारी तथा १९ हजार ३९९ सवारी चालक अनुमतिपत्र नवीकरण भएका प्रदेश सरकारको कार्य प्रगतिमा उल्लेख छ ।
त्यस्तै, निःशुल्क रक्त संचार सेवा अन्तर्गत १ हजार १८७ जना बिरामीलाई २ हजार १४८ पिन्ट रगत निःशुल्क उपलब्ध गराइएको, करिब १ लाख ४६ हजार ६१२ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप लगाइएको जनाइएको छ।
त्यस्तै,एआई प्रविधिद्वारा २२ हजार जनाको क्षयरोगका बिरामीहरुको चेकजाँच, ११ हजार भन्दा बढी महिलाई स्वास्थ्य शिविर मार्फत प्रजनन स्वास्थ्य सम्बन्धी सेवा प्रदान गरिएको,१४ हजार नागरिकमा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको र ४ हजार ३९७ जनामा सिकलसेल एनिमिया र थालेसिमिया रोग परीक्षण गरिएको छ जनाइएको छ ।
आर्थिक रुपले विपन्न नागरिकको औषधी उपचार सहायता कार्यक्रम अन्तर्गत ६४५ जनालाई उपचार सहायता प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।





