बैतडी- बैतडीका किसानहरुले फलाएका आलु कुहिन थालेका छन । जिल्लाको पुर्चौडी नगरपालिका– ६ भूमिराजगाउँका करिब ८० परिवारले फलाएका आलु कुहिन थालेका हुन । बजार र उचित मूल्य नपाएपछि सो गाउँका किसानले फलाएको रातो र सेतो आलु बिक्री नहुँदा गोठमा थन्क्याएर राखिएको छ ।


कतिपय किसानको आलु त बारीमै कुहिन थालेको स्थानीय किसान तेजबहादुर विष्टले बताए । उनले गाउँको स्थानीय बजारमा प्रतिकिलो २० रुपियाँमा पनि आलु बिक्री नभएको बताए । आलु बैतडीकै मुख्य बजारसम्म पुर्याउन ग्रामीण सडक बर्खामा अवरुद्ध भएको उनको भनाई छ । जसका कारण किसानहरुले आलुको उचित मूल्य पाईरहेको अवस्था छैन ।



स्थानीय सरकारले अवरुद्ध भएको ग्रामीण सडक सफा गरिदिए बैतडी–बझाङ जोड्ने जयपृथ्वी मार्गको बित्थड पु(याएर जिल्लाबाहिर बिक्री गर्न सकिने सम्भावना रहेको किसानले बताएका छन् । यद्यपि स्थानीय सरकारले ग्रमीण सडक खुलाउन कुनै चासो नदिएको किसानको गुनासो छ । बर्खे सिजनमा यहाँका किसान परम्परागत खेतीका रूपमा मकै लगाउँदै आए पनि पछिल्लो समय आलु खेती गर्दै आएका छन् । भूमिराजको रुइसेनी र धारुडीगाउँका किसान व्यावसायिक आलु खेतीमा लागे पनि उत्पादित आलु बारीमै कुहिन थालेपछि ठुलो घाटा बेहोर्नु परेको किसानहरुले बताएका छन ।
स्थानीय सरकार गठन भई नगरपालिका बनेको आठ वर्ष बितिसक्दा पनि गाउँमा अहिलेसम्म गतिलो सडक, बाटोघाटो र बिजुलीबत्ती नपुगेको विष्टले गुनासो गरे । उनले किसानको गुनासो लगेर नगरपालिका धाए पनि कुनै सुनुवाइ नभएको बताए ।
किसानले उत्पादन गरेको आलु बजारसम्म कसरी पुर्याउन सकिन्छ भन्नेबारेमा छलफल भइरहेको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले बताए । ‘नगरपालिका जोड्ने मुख्य हाट सडकखण्ड सुचारु गरिए पनि वडाका ग्रामीण सडक पानी परेका बेला सफा गर्न सम्भव हुन सकेको छैन’ उनले भने ‘तैपनि किसानको आलु बजारसम्म पुर्याउने विषयमा छलफल गरेर टुङ्गो लगाउँछौँ ।’
बैतडीमा रातो र सेतो गरी आठ सय हेक्टरमा आलु खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीले बताए । उनले यस वर्ष समयमै पानी परेकाले आलु उत्पादन राम्रो भए पनि केही ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा बजारसम्म पुर्याउन किसानलाई समस्या भएको बताए ।