आजबाट अछामको मङ्गलसेन नगरपालिकाका विद्यालय सञ्चालन




अछाम, २७ भदाै– अछामको मङ्गलसेन नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबारबाट पठनपाठन कार्य सञ्चालन भएको छ । नगर क्षेत्र भित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरूमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्दै गराउँदै पढाई सञ्चालन गरिएको हो ।


मङ्गलसेन नगर कार्यपालिकाको यही भदौ २५ मा बसेको बैठकले विद्यालय सञ्चालन ढाँचा–२०७७ अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै नगरपालिका कार्यालयले तोकेका स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववत् रुपमा विद्यालय सञ्चालनका लागि सूचना जारी गरेको थियो । सदरमुकाम स्थित षोडशा माविका प्रधानाध्यापक मदन कुवरले आफूहरूले नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रशासनसँग समन्वय गरी यसअघि आलोपालो पढाई सञ्चालन गरिरहेको बताए । “हामीले ३ हप्तासम्म टोल शिक्षा सञ्चालन गर्यौँ, त्यसपश्चात् विद्यालयमै बोलाएर आलोपालो पढाई गरिरहेका थियौँ” उहाँले भन्नुभयो ‘अब नगरपालिकाको निर्णय अनुसार आजबाट औपचारिक रूपमै सबै स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौँ ।’



कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरूलाई सबैभन्दा बढी मार परेको थियो । कोरोनाको संक्रमण पनि कम हुँदै गइरहेको अवस्थामा सरोकारवाला पक्षसँगको परामर्शमा सबै खाले स्वास्थ्य मापदण्ड अपनाई विद्यालयहरूमा पठन पाठन सञ्चालन गर्ने निर्णय गरिएको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए ।
नगरपालिका स्तरीय प्रधानाध्यापकहरूको बैठकले पनि यसअघि टोल शिक्षाका रुपमा पालैपालो पठनपाठन गराउने निर्णय गरेको थियो । आफूहरूले २ हप्ता सम्म टोल शिक्षा सञ्चालन गरेको र अब नगरको निर्णय अनुसार भौतिक उपस्थितिमै पठन पाठन सुरु गरेको कालिका आधारभूत विद्यालय वडा नम्वर १२, बिर्कुका प्रधानाध्यापक पूर्ण बहादुर रावलको भनाई रहेकाो छ ।
मङ्गलसेन नगरपालिका भित्र जम्मा ४९ वटा सामुदायिक विद्यालय, ७ वटा निजी विद्यालय र ६० वटा बाल विकास केन्द्र रहेका नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपेन्द्र विष्टले बताउनुभयो । कोरोना भाइरसको कारण शैक्षिक क्षेत्र नराम्ररी प्रभावित भएको बेला विद्यालय सञ्चालनले विद्यार्थीमा खुसीको सञ्चार गरेको छ ।
यसअघि जिल्लाको साँफेबगर नगरपालिकाले भदौ २४ गतेबाट तथा कमलबजार नगरपालिकाले भोलि भदौ २८ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारको स्मार्ट लकडाउनको अवधारणा, कोभिड–१९ मा विद्यालय सञ्चालन कार्य ढाँचा–२०७७, जिल्ला स्तरका सरोकारवालाको समन्वय बैठक, गाउँ नगर शिक्षा समितिको निर्णय तथा विद्यालय व्यवस्थापन समितिको अगुवाइमा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले बताए ।



