परशुराम नगरपालिकाद्वारा ३० विद्यार्थीलाई बिना ब्याज शैक्षिक ऋण

डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि ३० जना विद्यार्थीलाई बिना ब्याज शैक्षिक ऋण प्रदान गर्ने भएको छ । नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम पाँच लाख रुपैयाँसम्मको ऋण दिने योजना अनुरूप विद्यार्थी छनोट गरेको हो ।

नगर प्रमुख भरत बडायर जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नगरपालिकाले कुल ३० लाख रुपैयाँ विनियोजन गरेको छ । विशेष गरी जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।

Navadurga sun
Godawari sandesh

शैक्षिक ऋण योजना तथा भुक्तानी प्रक्रिया नगरपालिकाले एसईई वा सो भन्दा माथिको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई मात्र यो ऋण उपलब्ध गराउने जनाएको छ । एचए, ओभरसियर, स्टाफ नर्सिङ, इन्जिनियरिङ, पाइलटिङ, एमबिबिएस, कृषि, पशु, सूचना प्रविधि लगायतका विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि यो योजना लागू गरिनेछ ।

Dadeldhura hospital

नगर प्रमुख जोशीका अनुसार दुई किस्तामा गरी अधिकतम पाँच लाख रुपैयाँसम्म शैक्षिक ऋण प्रदान गरिनेछ।

यस ऋणको भुक्तानी व्यवस्था अनुसार शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको एक वर्षभित्र २५ प्रतिशत, दुई वर्षभित्र ५० प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत, चार वर्षभित्र सम्पूर्ण ऋण रकम फिर्ता गर्नु पर्नेछ ।

नगरपालिकाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०८१ पनि तयार गरिसकेको छ । कार्तिक १३ गते सार्वजनिक सूचनामार्फत आवेदन खुला गरिएको थियो। प्राप्त आवेदकमध्ये ३० जना विद्यार्थी छनोट भइसकेका छन्, जसलाई सम्झौता गर्न मंगलबार नगरपालिकाले सूचित गरेको छ ।

नगरपालिकाको यो पहलले आर्थिक अभावका कारण अध्ययन रोक्नुपर्ने बाध्यता भएका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Loading...