डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले ६ वर्ष अघि २ लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेका थिए ।



उनले च्याउ बिक्री गरेर वार्षिक २० देखि २५ लाख रुपैयाँसम्म कारोबार गर्दै आएका छन् । ३३ वर्षीय जोशीले कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजना बनाएका थिए । तर विदेश जाने योजनासहित काठमाडौँ पुगेका जोशीले त्यहाँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएका थिए ।



अहिले परिवारको सबै खर्च कटाएर वार्षिक ८ लाखसम्म बचत हुने गरेको उनले बताए । दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गर्दै आएको उनले बताए । ६ वर्षअघि सुरु भएको च्याउखेतीबाट उनी अहिले जिल्लाकै नमूना कृषकका रूपमा स्थापित छन् । उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने गरेको छ ।
एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने गरेको उनले बताए । कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिनेसमेत बताएका छन् । विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने उनको अनुभव छ ।
अहिले प्रतिकिलो दुई सयका दरले च्याउ बिक्री हुँदै आएको छ । फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको बताए । स्थानीयस्तरमै आम्दानीका स्रोत बनाउनसके युवाको विदेश पलायनदरमा कमी आउने उनको बुझाइ छ । रासस




