डडेल्धुराको परशुरामले प्राविधिक शिक्षा अध्ययनका लागि ऋण दिँदै

डडेल्धुराको परशुरामले प्राविधिक शिक्षा अध्ययनका लागि ऋण दिँदैडडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विनाब्याज पाँच लाख ऋण दिने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट नगरमा स्थायी बसोबास गर्ने इच्छुक प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत विद्यार्थीलाई ऋण दिने भएको हो। 

नगरप्रमुख भरत बडायर जोशीले नगरपालिकाले यसअघि राजपत्रमा प्रकाशित गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०८१ अनुसार ऋण दिन लागिएको बताए।

Navadurga sun
Godawari sandesh

त्यसका लागि नगर क्षेत्रमा बसोबास गर्ने प्राविधिक शिक्षा अध्ययन गर्न चाहने आदिवासी, दलित, महिला, पिछडिएको वर्ग, लोपोन्मुख जाति, घाइते, अपाङ्गता, सहिद परिवार, जेहेन्दार तथा विपन्न विद्यार्थीलाई आवेदनका लागि आह्वान गरिएको जानकारी दिए। 

Dadeldhura hospital

‘हामीले निर्देशिका पारित गरेर गत वैशाख ३ गते नै राजपत्रमा प्रकाशित गरिसकेका छौँ। सोही निर्देशिकाको मापदण्डअनुसार आवेदन दिन कात्तिक १३ गते सार्वजनिक सूचना जारी गरिसकेका छौँ। आगामी मङ्सिर २० गतेसम्म आवेदन दिन सकिने छ’, नगरप्रमुख जोशीले भने। 

ऋण रकम सामान्य चिकित्सा (एचए), ओभरसियर, स्टाफ नर्स, इञ्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु, सूचना प्रविधिलगायत अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई दिइने प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले जानकारी दिइन्। 

आवेदन दिँदा विद्यार्थीले नागरिकताको प्रमाणपत्र प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको ट्रान्सक्रिप्ट, परिवारका दुई जना सदस्यहरूको मन्जुरीनामा पत्र, सम्बन्धित वडाको शैक्षिक ऋणका लागि गरिएको सिफारिस, विद्यार्थी भएको प्रमाणित हुने र अध्ययनरत तह वा कोर्सको जम्मा शैक्षिक शुल्क खुल्ने सम्बन्धित शैक्षिक संस्थाको पत्रलगायत कागजात तथा प्रमाण आवश्यक पर्ने भट्टले बताइन्।

यसवर्ष आवेदन दिने मध्ये कम्तीमा २० जनालाई शैक्षिक कर्जा दिने योजना रहेको नगरप्रमुख जोशीले जानकारी दिए। यसरी लिइने ऋण शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र न्यूनतम २५, दुई वर्षभित्र ५०, तीन वर्षभित्र ७५ र चार वर्षभित्र सबै फिर्ता गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।  रासस

Loading...