अछाममा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै




अछाम, २७ साउन- अछाम जिल्लामा पछिल्लो समय भाइरल ज्वरोका बिरामीकाे संख्या बढ्दै जान थालेकाे छ। जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरूमा दिन प्रतिदिन भाइरल ज्वरोका बिरामीहरू बढिरहेका छन् ।


मौसम परिवर्तन भएसँगै ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेका चिकित्सकहरु बताउँछन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूमा दिनदिनै ज्वरोका बिरामीको सङ्ख्या बढ्ने गरेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्यामा समेत वृद्धि हुँदै गइरहेकाे छ ।


जिल्ला अस्पतालमा हाल दैनिक २५/३० जनाभन्दा बढी ज्वरोका बिरामी आउने गरेको अस्पतालका नर्सिङ इन्चार्ज तथा सूचना अधिकारी गङ्गा बुढामगरले जानकारी दिए । उनका अनुसार विगत १ महिना देखि जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको बताए ।

अस्पतालमा हाल ज्वरो, निमोनिया, दम, झाडापखाला लगायतका गरी दैनिक १ सय ५० देखि १ सय ८० जना सम्म बिरामी उपचारका लागि आउने गरेको उनले बताए । अस्पताल आउने बिरामीमध्ये अधिकांश ज्वरो र रुघाखोकीका छन्। गर्भवती महिला तथा दीर्घ रोगका बिरामी समेत बढिरहेको अस्पतालले जनाएको छ ।
मौसममा आएको परिवर्तन र निषेधाज्ञा खुकुलो भएसँगै ज्वरोका बिरामी बढेका उनको भनाइ छ । वर्षाका कारणले दूषित पानीको प्रयोगले पनि यो समस्या आएको भन्दै पानी उमालेर मात्रै पिउन उनले सुझाव दिएका छन् । नयाँ मूलको पानी समेत उमालेर मात्रै पिउन उनको सुझाव छ ।
कोरोना सङ्क्रमणको जोखिम पनि कायमै रहेको बताउँदै उहाँले ज्वरो, खोकी कोरोनाको लक्षणभित्र पर्ने भएकाले शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण गर्ने गरिएको बताउँदै उहाँले शङ्का लागे बिरामीको एन्टिजेन परीक्षण गर्नुपर्ने बताए।
मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्याधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूल रूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको चिकित्सकको भनाई छ । भाइरल ज्वरो आएका बिरामीले नआत्तिन, झोलिलो पदार्थ बढी खान, सफा पानी पिउन, खानपिन र सरसफाइ लगायत स्वास्थ्य सुरक्षाका मापदण्डमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।



