

अत्तरिया- गेटा अस्पतालमा बिरामी नै भर्ना गरेर उपचार गर्न सुरु गरिएको छ । अहिले सम्म ओपिडी सेवा मात्रै सञ्चालनमा रहेको अस्पतालले शुक्रवार देखि बिरामी भर्ना गरेर उपचार गर्न सुरु गरिएको हो ।


इन्डोर सेवा सुरू भएसँगै ओपिडीमा आएका बिरामीको भर्ना गरेर उपचार हुने भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । उनले ओपिडीमा आउने बिरामी भर्ना गर्न महिला र पुरुष वार्ड सञ्चालनमा ल्याएको बताए ।



अस्पतालमा महिला र पुरुष बिरामीलाई अलगअलग वार्डमा राखेर उपचार गरिने छ । गेटा अस्पतालमा फिजियोथेरापी, अल्ट्रासाउन्ड सेवासहित इन्डोस्कोपी र इको कार्डियोग्राफी सेवा तथा प्रयोगशाला सेवा समेत सुरू भएको छ । गेटा अस्पतालले प्रदेशमै पहिलो पटक स्तन क्यान्सरको उपचार समेत सुरू गर्ने भएको छ ।
भदौबाट अस्पतालमा मेमोग्राफी अर्थात् स्तन क्यान्सरको उपचार सेवा सुरू हुने अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । ‘भदौबाट बिरामी भर्ना गरेर उपचार गर्ने तयारी थालिएको छ । अस्पतालमा अत्याधुनिक उपकरणबाट मेमोग्राफी सेवा पनि चलाउने तयारी गरेका छौँ’, कार्कीले भने ।
गेटा अस्पतालमा आइपिडी सेवा मात्रै सञ्चालन भएसँगै तीन सय शय्यामा अस्पताल चलाउने प्रस्ताव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको अस्पतालले जनाएको छ । मन्त्रालयले स्वीकृत दिने बित्तिकै ३ सय शय्यामा अस्पताल चलाउने तयारी थालिएको छ ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको निर्देशनमा गेटा अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्न सुरू गरिएको छ । अस्पतालमा २४ सैं घण्टा प्रयोगशाला र फार्मेसी सेवा समेत सञ्चालन हुनेछ ।