धनगढी उपमहानगरले गर्‍यो नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान

धनगढी- धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने विद्यालयहरूलाई आइतबार एक समारोहका बिच सम्मान गरिएको हो । नगर उपप्रमुख कन्दकला कुमारी रानाले नतिजा सुधार गर्ने विद्यालय रहेको वडाका वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूलाई सम्मान गरेकी हुन्। नगर उपप्रमुख रानाले फूलमाला, सम्मान पत्र र नगदसहित सम्मान गरेकी हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

विद्यालयको नतिजा सुधार ल्याउन मेहनत गरेको भन्दै वडा अध्यक्ष, व्यवस्थापन समिति र प्रधानाध्यापकहरूको हौसला बढाउन सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीले बताए । गत वर्ष १७ विद्यालयको कक्षा ८ को परीक्षामा शून्य नतिजा आएकोमा यो वर्ष तीन विद्यालय समायोजन हुँदा बाँकी रहेका १४ विद्यालयबाट कक्षा ८ को परीक्षामा विद्यार्थी सहभागी भएका हुन् । शून्यबाट नतिजा सुधार गर्दा सबै भन्दा बढी विद्यार्थी पास गराउने तीन वटा विद्यालयलाई  नगद, प्रमाण पत्र र ट्रफीसहित सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खातीले बताए।

शून्यबाट यो वर्ष सर्वाधिक ५१ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी–१२ दुर्गाबस्तीको दुर्गा आधारभूत विद्यालयलाई नगद १५ हजार, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ भने दोस्रो र तेस्रो बढी प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी–१० को जनकल्याण माध्यमिक विद्यालय र धनगढी–१३ को नवज्योति आधारभूत विद्यालयलाई क्रमशः १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।

गत वर्ष शून्य नतिजा ल्याएका तर यो वर्ष नतिजामा सुधार ल्याएको धनगढी–१ को सरस्वती आधारभूत विद्यालय, धनगढी–७ को शिव माध्यमिक विद्यालय, धनगढी–१३ को जनता राष्ट्रिय आधारभूत विद्यालय, धनगढी–१४ को शिवशंकर आधारभूत र सिद्धार्थ आधारभूत विद्यालयलाई सम्मान गरिएको हो । यस्तै, धनगढी–१६ को दिपेन्द्रचारपाते माध्यमिक विद्यालय, वडा नम्बर–१७ को भानु माध्यमिक विद्यालय र सज्जन आधारभूत विद्यालय, वडा नम्बर १८ को इन्द्रोदय र खप्तडी आधारभूत विद्यालय तथा वडा नम्बर–१९ को फूलबारी आधारभूत विद्यालयलाई सम्मान गरिएको छ । नतिजा सुधार गर्न जनप्रतिनिधि, व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकहरूले गरेको मेहनतको कदर गर्दै सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

Loading...