धनगढी- कैलाली भन्सार कार्यालयले चालु आवका पाँच महिनामा कुनै पनि महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन् । भन्सार कार्यालयको चालु आवको मंसिर मसान्त सम्मको लक्ष्य अनुसारको राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको हो ।


मंसिर मसान्त सम्म ४ अर्व ५८ करोड ३५ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा २ अर्व ९६ करोड ७१ लाख मात्रै राजस्व संकलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । जुन लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत हुन आउँछ ।



उनका अनुसार चालु आवको साउन महिनामा ७२ करोड ३५ लाख लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख, भदौमा ८८ करोड ४० लाख लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख, असोजमा ९७ करोड ८१ लाख लक्ष्य रहेकोमा ६३ करोड १४ लाख, कार्तिकमा ९७ करोड ५२ लाख लक्ष्य रहेकोमा ६१ करोड ६४ लाख र मंसिरमा १ अर्व २ करोड २५ लाख लक्ष्य रहेकोमा ७३ करोड ३४ लाख मात्रै राजस्व असुली भएको छ ।
भन्सार कार्यालयको चालु आव २०८०/०८१ मा वार्षिक राजस्व संकलनको लक्ष्य ११ अर्व ५८ करोड २४ लाख रहेको छ । चालु आवका पाँच महिना अर्थात मंसिर मसान्तसम्म २ अर्व ९६ करोड ७१ लाख मात्रै राजस्व संकलन भएको छ जुन वार्षिक लक्ष्यको २५ दशमलव ६१ प्रतिशत मात्र हो । गत आव २०७९/०८० मा पनि कुनै महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन् ।
गत आवमा वार्षिक राजस्व संकलनको लक्ष्य १२ अर्व ३० करोड ६६ लाख रहेकोमा ८ अर्व २९ करोड ६३ लाख राजस्व असुली भएको थियो । जुन लक्ष्यको ६७ दशमलव ४१ मात्रै थियो ।
आयातमा कमी भए सँगै राजस्व संकलनमा कमी आएको सूचना अधिकारी खड्काले बताए । उनले आयात घट्यो, बढी राजस्व असुली हुने सामान आयातमा कमी आयो त्यसले गर्दा राजस्व संकलनमा पनि कमी आएको बताए । ‘राजस्व संकलनको लक्ष्य बृद्धि पनि झण्डै ४० प्रतिशतले बढेर आएको छ, त्यसले पनि राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको उनले बताएका छन् ।





