


धनगढी- कैलालीको धनगढी चौराहदेखि कैलाली पुलसम्म २१ मिटर सडक क्षेत्र खाली गरिँदैछ । निर्माणाधिन धनगढी चौराह-कैलाली पुलसम्म सरकारी कार्यालयहरुलाई २१ मिटर सडक क्षेत्र पूणर् रुपमा खाली गर्न धनगढी उपमहानगरपालिकाले पत्राचार गरेको थियो ।



सोही अनुसार उपमहानगरपालिकाको समन्वयमा सुदूरपश्चिम प्रदेश सरकारले चासो देखाएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सडकको मापदण्ड अनुसार २१ मिटर (१५ मिटर र ६ मिटर सेटव्याग सहित) २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको छ ।


मुख्यमन्त्री कमल बहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साल लगायत मन्त्रीपरिषद कार्यालयले धनगढी चौराह-कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडी बढाइएको छ । शुक्रबार धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवं मन्त्रीपरिषदको कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन चिन्ह लगाएको हो ।
यस काममा सहयोग गर्ने मुख्यमन्त्री, प्रमुख सचिव तथा मन्त्रीपरिषद कार्यालयलाई उपमहानगरपालिकाले धन्यवाद समेत दिएको छ । बढ्दो सवारी चाप र जनसंख्यालाई मध्यनजर गरी धनगढी चौराहदेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।





