

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् । बझाङ जिल्ला स्थित भूकम्प प्रभावित वस्तीहरुको स्थगलगत अनुगमन गरेका मुख्यमन्त्री शाहले प्रभावितहरुको घर बनाइदिने आश्वासन दिएका हुन् ।



बिहीबार नै बझाङ पुगेका मुख्यमन्त्री शाहले शुक्रबार भुकम्पबाट प्रभावितहरुको बस्तीको अनुगमनको क्रममा स्थानीय प्रभावितहरुसँग छलफल गर्दै घर बनाइदिने घोषणा गरेको अनुगमन टोलीका सदस्य समेत रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए ।


अध्यक्ष जोशीले भने- ‘मुख्यमन्त्री ज्यूले प्रभावितहरुसँग कुरा गर्दै सर्वप्रथम प्राविधिक निरीक्षण गर्ने त्यसपछि प्राविधिक निरीक्षण प्रतिवेदन तथा मूल्यांकनको आधारमा बस्ती निर्माण गरिने घोषणा गर्नु भएको छ ।’ गत मंगलबार बझाङ जिल्लालाई केन्द्र बिन्दु बनाएर भूकम्प गएको थियो । त्यसपछि निरन्तर पराकम्पन गइरहेको हो ।

