डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा जिल्लामा वर्षे प्रमुख वाली धान खेतीका लागि ९० प्रतिशत रोपाइँ सकिएको छ ।
मानो रोपेर मुरी फलाउने महिनाका रुपमा असार महिनालाई लिइने रोपाइँ अघिल्लो वर्षका तुलनामा यसवर्ष मनसुन छिटो भएकाले खेतमा धान रोप्ने काम छिटो भएको हो ।



बिगतका बर्ष भन्दा यो बर्ष जेठ देखि नै नियमित रुपमा वर्षा भएका कारण सिँचाइ हुने जमीनका साथै सिँचाइ नहुने जमीनमा समेत यो वर्ष रोपाइँ गर्न किसानलाई सहज भएको छ । असार सुरु भएसँगै निरन्तरको वर्षा र समयमै धानको बेर्ना राख्न पाएका कारण डडेल्धुराका अधिकांश क्षेत्रमा किसानहरुलाई धान रोप्ने चटारोले छोपेको छ ।



जिल्लाको धानको पकेट क्षेत्र मानिएका नवदुर्गा गाउँपालिकाको सकायल, गन्यापधुरा गाउँपालिकाको रुवाखोला क्षेत्र, भागेश्वर गाउँपालिकाको रुपाल, धिक्तडी, अजयमेरु गाउँपालिकाको राईल्डभडार, पशुराम नगरपालिकाको परिगाउँ, सिमलखेत, अमरगढी नगरपालिकाको डोटी घटाल क्षेत्र लगायतका धान फल्ने फाँटहरुमा यस वर्ष असारको पहिलो साताबाट वर्षा शुरु भएपछि ९० प्रतिशत रोपाइँ सकिएको हो ।
डडेल्धुरामा कुल खेती योग्य जमिन ११६१६ हेक्टरमा रोपाई गर्ने क्षेत्र ६१२० हेक्टर मध्ये ५५०८ हेक्टरमा रोपाँई भएको तथ्यांक प्राप्त भएको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
अघिल्ला वर्षहरुमा असार सकिँदै गर्दा जिल्लामा १५–२० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ हुने गरेको भए पनि पर्याप्त आकाशे वर्षाका कारण किसानहरुले समयमै धान रोपे पछि प्रतिफल पनि सन्तोषजनक आउने कृषक बताउँछन् । रोपाँई गर्न अब ढिलो गरि रोपिएको बीउबेर्ना भएको खेत तथा आंशिक सिंचाई हुने खेत मात्र बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

