देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं- देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्।

Navadurga sun
Godawari sandesh

बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गर्ने गरेका छन्।

Dadeldhura hospital

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नुपरेको थियो।

संघीय तहमा उपसचिव र अधिकृत उपलब्ध नभएका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयस्थित स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले बताए।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नभएको ठाउँमा कार्यपालिकाको सिफारिसमा त्यहीँको ज्येष्ठ कर्मचारीलाई निमित्त तोकिएको र संघमा भएका झन्डै एक सय कर्मचारीलाई स्थानीय तहमा पठाइएको छ।

स्थानीय तहमा चाहिने प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने तथा अन्य कर्मचारी भर्ना गर्न प्रदेश सरकारले लोकसेवामार्फत पदपूर्ति गर्नुपर्ने भए पनि त्यो गर्न नसकिएका कारण समस्या भएको उनको भनाइ छ। रासस

 

Loading...