काठमाडौं- पानी पर्न थालेसँगै पश्चिम तराईमा तापक्रम घटेर राहत मिलेको छ । तातो हावा अर्थात् ‘लू’ चल्न छोडेको छ । दुई हप्ताभन्दा लामो समयसम्म चलेको तातो हावाका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो । पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम घट्न थालेको छ ।



अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको छ । गएको १ गते ३९ दशमलव ५ डिग्री सेल्सियस रहेको दीपायलको अधिकतम तापक्रम ३० दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ भने धनगढीको ३७ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।


पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गरेको छैन । तर त्यहाँ अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले केही ठाउँमा हल्का वर्षा गराएको छ भने धेरैजसो ठाउँमा बादल लाग्न थालेको मौसमविद् समिर श्रेष्ठले बताए ।