

काठमाडौं- केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चाररपाँच दिन गर्मी यस्तै रहने छ ।



तराईका धेरैजसो जिल्लामा चाररपाँच दिन नै तातो हावा लू चल्ने अनुमान छ । पहाडी केही जिल्लामा पनि ठूलो पानी पर्ने सम्भावना नरहेको तर एकरदुई ठाउँमा भने फाट्टफुट्ट पानी पर्न सक्ने उनले बताए ।


फाट्टफुट्ट वर्षाले तत्काललाई केही शीतल दिए पनि तापक्रम नघट्ने भएकाले गर्मी फेरि उस्तै हुने मौसमविद् लामिछानेले बताए । यसपालि मनसुन पनि ढिलो गरी भित्रिने सम्भावना रहेकाले गर्मीको अवधि लम्बिने उनको भनाइ छ ।
तराईका धेरैजसो ठाउँमा लगातार एक हप्तादेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस छ । कतिपय ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नकटे पनि न्यूनतम तापक्रम र तातो हावा चल्दा उखरमाउलो गर्मी छ ।