

धनगढी- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट चढेको गाडी दुर्घटनामा परेको छ। बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।


दुर्घटनामा भट्ट सामान्य घाइते भएका छन्। उनको कम्मरमा चोट लागेको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिए। राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बुडर नजिक गाडी दुर्घटनामा परेको हो।



सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, जनमोर्चा सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा थिए। गाडी नालीमा खसेको छ।
राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि कञ्चनपुर र बागलुङबाट एकैसाथ ‘मेची महाकाली अभियान’ सञ्चालन गरिरहेको छ। सो अभियान अन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गरी जेठ १५ गते बुटवल र काठमाडौंमा समापन गरिने जनमोर्चाले जनाएको छ।
महासचिव भट्टको नेतृत्वमा रहेको पश्चिमको टोलीले महेन्द्रनगरबाट कार्यक्रम उद्घाटन गरी हिजो धनगढीमा विरोध सभा गरेको थियो। आज ९मंगलबार० दिउँसो ३ बजे डोटीको दिपायलस्थित पिपल्ला बजारमा विरोध सभाको आयोजना गरिएको छ। सो सभामा महासचिव भट्टले सम्बोधन गर्ने कार्यक्रम थियो।