

बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–८ र ९ को राप्का बाउली बस्तीहरू बाढीपहिरोको उच्च जोखिममा परेका छन्। खोलाले बस्तीको दायाँतर्फको जमिन बर्सेनि कटान गर्दै गएपछि राप्का र बाउली बस्ती बाढीपहिरोको जोखिममा परेका हुन्। बाउली खोलाले प्रत्येक वर्ष बर्खाको समय जमिन कटान गर्दै गएपछि अहिले राप्का र बाउलीका स्थानीयवासी बस्ती नै खोलाले बगाउने हो कि भन्ने डरले चिन्तामा छन्। स्थानीयका अनुसार प्रत्येक वर्ष बर्खाको समय बाउली खोलाले जमिन कटान गर्दै गएकाले अहिले बस्ती जोखिममा रहँदै आएको छ।



स्थानीय तहले बस्ती स्थानान्तरणका लागि तथ्याङ्क सङ्कलन गरेर जिल्ला विपत् व्यवस्थापन समितिलाई बुझाइसके पनि कुनै सुनुवाइ नै नभएको बडीमालिका नगरपालिकाका स्थानीय वीरबहादुर थापाले बताए । गत वर्ष बर्खाको समय यो बस्तीको तल र माथिबाट पहिरो बग्दै आएपछि जोखिममा रहेको हो। बाउली खोला हिउँदमा सानो हुन्छ, यसले केही असर गर्दैन। जब बर्खा लाग्छ अनि खोला पनि उर्लेर आउँछ। त्यसपछि कति बेला बस्ती नै बगाउने हो भन्ने डरले रातमा समेत निद्रा नलाग्ने गरेको उनले बताए ।


बडीमालिका नगरपालिकाका दर्जनौँ बस्ती बाढीपहिरोको जोखिममा छन्। यस्ता बस्ती स्थानान्तरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिमा छलफल भइरहेको बडीमालिका नगरपालिकाले जनाएको छ। बाढीपहिरोको जोखिममा रहेका बाजुराका करिब १५० भन्दा बढी बस्तीको तथ्याङ्क सङ्कलन गर्दै स्थानान्तरणका लागि गृह मन्त्रालयमा पठाएको र उताबाट अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।