

बाजुरा- बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं. –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका बालबालिकालाई घरमै जन्मदर्ताको प्रमाणपत्र दिने उद्देश्यले यो जन्मदर्ता अभियान सुरु गरिएको हो । गुडनेवर्स इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग बूढीगङ्गा नगरपालिका –४ को समन्वय र पीसविन बाजुराको आयोजनामा यो जन्मदर्ता अभियान सुरु गरिएको पीसविन बाजुराका सामुदायिक सहजकर्ता मनिसा रावतले बताए ।


उनले गाउँघरमा जन्मदर्ताको आवश्यकता बारेमा जानकारी नभएका अभिभावकलाई जन्मदर्ताको बारेमा अवगत गर्दै जन्मदर्ता नभएका बालबालिकाहरूको घरमै पुगेर जन्मदर्ताको प्रमाणपत्र दिने गरी बूढीगङ्गा नगरपालिका वडा नं। –४ को वडा कार्यालयसँगको समन्वयमा गुडनेर्वस आर्थिक सहयोग र पीसविन बाजुराको आयोजनामा यो अभियान सुरु गरिएको बताए ।


बूढीगङ्गा नगरपालिका ४ की स्थानीय गोमती रावतले आफू रोजगारीका लागि लामो समयसम्म भारतमा बस्दै आएकाले छोरा छोरीको जन्मदर्ता गर्न नपाएको बताए । उनले जन्मदर्ता नभएकै कारण छोराछोरीले विद्यालयमा भर्ना हुन पाएका थिएन ।

यतिबेलामा विद्यालय भर्नाकै समयमा अभियानले घरमै आएर जन्मदर्ता गरिदिएपछि यो वर्षदेखि छोराछोरीले विद्यालयमा पढ्न पाउने हुँदा आफूलाई निकै खुसी लागेको बताए । जन्मदर्ताको आवश्यकताको बारेमा जानकारी नपाएका दुर्गम गाउँ बस्तीका अभिभावकहरूलाई गुड नेवर्स इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत गोविन्दकुमार चौधरीले जन्मदर्ताको आवश्यकता र महत्त्वका बारेमा प्रशिक्षण दिएका थिए ।
इन्टरनेश्नल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत गोविन्द कुमार चौधरीले जन्म दर्ताको प्रमाण पत्र नभएकै कारण अहिले बाजुराका अधिकांश बालबालिकाहरूको पढाइ तथा कयौँ किशोर किशोरीहरू नागरिकता पाउन वञ्चित हुँदै आएको बताए ।
दुर्गम गाउँ बस्तीका कुनै पनि बालबालिकाहरूले जन्मदर्ताको प्रमाणपत्र नपाएर पढाइ गर्न वञ्चित नहुने गरी अहिले यो अभियान सुरु गरिएको इन्टरनेशनल नेपालका बाल प्रायोजन तथा बाल संरक्षण अधिकृत चौधरीले बताए। बूढीगङ्गा नगरपालिकाको वडा नं. –४ मा सुरु गरिएको जन्मदर्ता अभियान कार्यक्रमबाट बानेगाउँका १६ जनाले जन्मदर्ताको प्रमाण पत्र प्राप्त गरेको वडापालिकाले जनाएको छ ।
आर्थिक समस्या, जनचेतनाको अभाव तथा रोजगारीका लागि भारतमा बसेका र अहिले गाउँ आएर पनि जन्म दर्ता नबनाएका बाँनेगाउँका १६ बालबालिकाले जन्म दर्ताको प्रमाण पत्र बनाएको बूढीगङ्गा नगरपालिका वडा नं. –४ का वडा सचिव श्याम खत्रीले बताए । उनले यो अभियानमा जनप्रतिनिधि, अभिभावक, वडा, पालिकाका र पीसविन बाजुराका कर्मचारीको उपस्थिति रहेको बताए ।