डडेल्धुरा– स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन् । मंगलबार बिहान फेसबुक लाइभ मार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष हुने र आफूहरूको सुरुवात भएको बताएका छन् ।



उनले अब देउवाबाहेक डडेल्धुरामा आफ्ना प्रतिस्पर्धी नै नभएको दाबी गरे। ‘उहाँको पाँच वर्ष अब अन्तिम हो । उहाँले जिते पनि मैले जितजस्तै हो । डराउनु पर्दैन’, उनले भने, ‘अब डडेल्धुरा बनाउने, नीति नियम लेख्ने मैलै नै हो । अब डडेल्धुराको भनेको सागर ढकाललै हो । सक्किसक्यो अब कम्पिटिसन नै छैन ।’


उनले डडेल्धुराका युवालाई साथ दिएको धन्यवाद दिए । देशभर परिवर्तनको लहर आइसकेको उनको भनाइ छ । चुनावमा आफूहरूले निकै राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उनले यसलाई एकदमै राम्रो संकेत भएको पनि बताए ।
‘अन्तिम नतिजा आइसकेको छैन, त्यति सारो खराब नतिजा पनि छैन, अहिलेसम्म १०-१२ हजार भोट मात्र गन्ती भएको छ, यहाँ करिब ५० हजार मत खसेको छ । सकारात्मक भइदिनु होला,’ सागरले भनेका छन्, ‘युवाहरू सबै आउनुपर्छ । धेरैजनाले सागर तिम्रो १००० मत पनि आउँदैन भन्दै हुनुहुन्थ्यो, त्यसको बावजुद हामी राम्रो भोट ल्याउँदै छौं ।’ ढकालले डडेल्धुराबासीलाई गाली नगर्न पनि आग्रहसमेत गरेका छन् ।





