आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म चल्ने १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भनिन्छ । यस अवधिमा दिवङ्गत पितृप्रति तर्पण, पिण्ड दान र जल अर्पण गर्ने परम्परा रहिआएको छ ।

यस वर्ष महालय श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्ने धार्मिक ग्रन्थमा उल्लेख छ । कुशे औँसीदेखि नै पितृ आत्मा सन्तानको श्राद्धको प्रतीक्षामा घर–आँगन वरिपरि आइपुग्ने विश्वास गरिन्छ ।

कुन तिथिमा कसको श्राद्ध ?
शास्त्रीय मान्यताअनुसार, श्राद्ध गर्ने तिथि मृतकको अवस्थाअनुसार तोकिएको छ । कुमार अवस्थामा मृत्यु भएकाको पञ्चमीमा, आमा वा स्त्रीहरूको मातृ नवमीमा, संन्यास लिएका पुर्खाहरूको एकादशी वा द्वादशीमा श्राद्ध गर्ने प्रचलन छ ।
दुर्घटना, डुबान, विष, आगो, जनावरको आक्रमण वा हिंसात्मक कारणले मृत्यु भएकाको चतुर्दशीमा श्राद्ध गरिन्छ । आफ्ना पितृको मृत्यु तिथि थाहा नभएकाले भने औँसीमा श्राद्ध गर्दा सबै पितृ प्रसन्न हुने विश्वास छ ।
श्राद्धका नियम
श्राद्ध गर्ने दिनमा शाकाहारी, सात्त्विक भोजन मात्र ग्रहण गर्नुपर्छ । मासु, लसुन–प्याज, मुसुरो दाल, बैगुन, लौका, कालो नुन जस्ता तामसी अन्न वर्जित छन् । सो दिन अरूको अन्न नखानु, दतिउनले दाँत माझ्नु, स्नान गरी शुद्ध लुगा लगाउनु पर्ने नियम छ ।

अन्न र फूलको चलन
श्राद्धमा प्रयोग हुने अन्न स्वच्छ हुनुपर्छ । किरा परेको वा जनावरले छोएको अन्न प्रयोग गर्न निषेध गरिएको छ । श्राद्धमा सेतो वा पहेँलो फूल चढाइन्छ भने रातो फूल वा रातो चन्दन वर्जित छ । पहेँलो तथा सेतो चन्दनलाई सत्वगुणको प्रतीक मानिन्छ ।
पिण्ड परम्परा
श्राद्धमा चामल, दूध, घिउ र चिनी मिसाएर पिण्ड चढाइन्छ । पिण्डको आकार श्राद्धको प्रकारअनुसार फरक हुन्छन् –
– एकोदृष्ट श्राद्धमा सरिफा फलजत्रो,
– वार्षिकमा नरिवलको दाना जत्रो,
– तीर्थ श्राद्धमा अण्डा जत्रो ।
– ब्राह्मणलाई भोजन
श्राद्धमा शुद्ध र सात्त्विक ब्राह्मणलाई मात्र भोजन दिनु पर्ने मान्यता छ । मासु खाने, अपवित्र कर्म गर्ने वा चोरी गर्ने ब्राह्मणलाई बोलाउन नहुने शास्त्रमा उल्लेख छ ।
नसकिएको खण्डमा
व्यक्तिगत वा सामाजिक कारणले समयमा श्राद्ध गर्न नसकिए दीपावलीको औँसी वा मङ्सिर महिनाभित्र वैकल्पिक तिथि रोजेर गर्न सकिन्छ । तर आश्विन कृष्णपक्षमै गर्न सर्वोत्तम मानिन्छ ।
धार्मिक विश्वास
शास्त्रअनुसार, सोह्र श्राद्ध गर्ने सन्तानले आयु, स्वास्थ्य, ऐश्वर्य र मनोरथ प्राप्त गर्छन् । साथै, दुर्गा पक्ष, दसैँ र तिहारजस्ता पर्वअघि पितृको आशीर्वाद लिएपछि मात्र देवपूजा गर्नुपर्ने परम्परा छ ।
