

अत्तरिया- सार्वजनिक शिक्षाको सुधार र गुणस्तर प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सुदूरपश्चिम प्रदेशको कृष्णपुर नगरपालिकालाई विशेष सम्मान प्रदान गरिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको छाता संगठन नेपाल प्रिन्सिपल एसोसिएसन (प्यान) द्वारा पोखरामा आयोजित दोस्रो राष्ट्रिय शिखर सम्मेलन २०२५ मा कृष्णपुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दै कदर पत्र प्रदान गरिएको हो ।


सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको छाता संगठन Principals Association of Nepal (PAN) द्वारा पोखरामा आयोजित 2nd National Summit 2025 मा कृष्णपुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा



समारोहमा शिक्षा मन्त्री माननीय रघुजी पन्त र संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अमर बहादुर थापाले नगरपालिकालाई सम्मानित गरेका हुन् । कार्यक्रममा वक्ताहरूले कृष्णपुर नगरपालिकाले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, पूर्वाधार सुधार, शिक्षक क्षमता अभिवृद्धि तथा स्थानीय समुदायको सहकार्यद्वारा प्रभावकारी सुधार योजनाहरू कार्यान्वयन गरेकोमा प्रसंसा व्यक्त गरेका थिए ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुखले यो उपलब्धिलाई सबै सरोकारवालाहरूको संयुक्त प्रयासको परिणाम भन्दै धन्यवाद ज्ञापन गरेको छ । उनले विशेष रूपमा नगर सभा सदस्यहरू, कार्यपालिका टिम, नगर शिक्षा समिति, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखाका कर्मचारी, विद्यालय व्यवस्थापन समिति, पिटिएको टिम, सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा सञ्चारकर्मीहरूलाई अभियानमा सक्रियतापूर्वक सहभागिता जनाए बापत कृतज्ञता प्रकट गरेका छन् ।
नगर प्रमुखले भने, “हामीले सार्वजनिक शिक्षालाई प्राथमिकतामा राख्दै गुणस्तर, पहुँच र समानताको सिद्धान्तमा आधारित सुधारका कार्यक्रमहरू अघि सारेका थियौं । आजको यो सम्मान सम्पूर्ण कृष्णपुरवासीको गौरव हो ।”