अत्तरिया जेसिजले सहिद दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रमकाे आयोजना
अत्तरिया, १६ माघ- सहिद दिवसको अवसरमा अत्तरिया जेसिजले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । जेसिजले दिवसको अवसरमा अत्तरियामा रहेको रेडक्रसको भवनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

अत्तरिया जेसिज बर्ष २०२२ का अध्यक्ष हरि कडायतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नं.२ का वडा सदस्य कमल कडायत रहेका थिए । कार्यक्रममा सहित प्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रमुख अतिथी कडायतले सहिदको सधै मम्मान गरी सहिदको मार्गदर्शनमा चल्न आवश्यक रहेको बताए ।


कार्यक्रममा बोल्दै अत्तरिया जेसिज बर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीले अहिलेका युवाहरुले आफ्नो इतिहासका बारेमा जानकार रहन आवश्यक रहेको बताए । ‘सहिदहरुले दिएको सहादतका कारण नै हामी अहिले यो अवस्थामा बोल्न सक्ने भएका छौ’ उनले भने ‘बोल्ने, हिड्ने स्वतन्त्रता पाइएपनि अझै पनि आर्थिक विकासको पाटो भने अधुरो नै रहेको छ । यस क्षेत्रमा अब युवाहरुले लाग्न आवश्यक छ ।’
कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष कडायत सहिदहरुको त्यागले हामीहरुले बोल्न पाएकाले वहाहरुको उच्च सम्मान गर्न आवश्यक रहेको बताए । श्रद्धाञ्जली कार्यक्रममा जेसिजका पदाधिकारी संगै अत्तरिया क्षेत्रका अग्रज युवाहरुको सहभागिता रहेको थियो । श्रद्धाञ्जली कार्यक्रमको संचालन अत्तरिया जेसिज बर्ष २०२२ का महासचिव प्रकाश मल्लले गरेका थिए ।
नेपालमा सहिद दिवस माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने गरिएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
