सवारी ज्यान मुद्दामा मन्त्री सोडारीका छोरा पक्राउ
धनगढी, १९ पुस– कैलाली प्रहरीले सवारी ज्यान मुद्दामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई पक्राउ गरेको छ ।


सोडारीका २३ वर्षीय छोरा बबीलाई आइतवार पक्राउ गरिएको हो । बबीको गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । २ पुसमा सोडारीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीले टीकापुर नगरपालिका –१ मा ९९ वर्षीया पैदल यात्री दुर्गादेवी न्यौपानेलाई ठक्कर दिएको थियो ।

घाइते न्यौपानेको उपचारका क्रममा ११ पुसमा मृत्युु भएको थियो । उपचार खर्च व्यहोर्ने सहमति गरेर सम्पर्कमै रहने गरी सोडारीलाई छाडिएको र मृत्युको घटनापछि सम्पर्कमा नआएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
