कञ्चनपुर- सुदूरपश्चिमको ऐतिहासिक र सांस्कृतिक धरोहर मानिने हुडकेली नृत्य अब लोप हुने अवस्थासम्म पुगेको छ । वीर–वीराङ्गनाहरूको गीति–कथामा आधारित यो नृत्य पुस्तान्तरण हुन नसक्दा अहिले नयाँ पुस्ताले सिक्न चासो नदेखाएकाले संकटमा परेको हो ।

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–११ का ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यका कुशल कलाकार हुन् । उनले बाजेबाट हुडका बजाउने र गीतिकथा भट्याउने कला सिके पनि अहिले यस नृत्यको माग अत्यन्त न्यून भएको बताउँछन् । उनका अनुसार पहिले विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशन जस्ता अवसरमा हुडकेली नृत्यको ठूलो माग हुन्थ्यो ।

“म बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली सिकेको हुँ। इतिहासका पात्रहरूलाई गीतमार्फत रोचक ढंगले प्रस्तुत गरिन्थ्यो । गाउँभरिका मानिस हुडकेली हेर्न भेला हुन्थे। अहिले भने वर्षमा एकपटक पनि बोलाउने माग आउँदैन,” गङ्गाराम भन्छन् ।
पहिलाका दिनमा हुनेखाने परिवारले मात्र हुडकेली लगाउने प्रचलन थियो । कलाकारलाई चामल, खसी–बोका, भाँडाकुँडा, यहाँसम्म कि जग्गामा ‘बालो बर्सी’ दिने चलन थियो । हुडकेलीबाटै जीविका चल्ने अवस्था थियो । तर आधुनिक रहनसहन र साउण्ड सिस्टमको मोहसँगै यो परम्परा बिस्तारै हराउँदै गएको गङ्गारामको अनुभव छ ।

पूर्वजनप्रतिनिधि टेकबहादुर हमालका अनुसार यो नृत्य प्राचीन समयमा सैनिकहरूको मनोबल बढाउने र मनोरञ्जन दिने माध्यम थियो । नृत्यका क्रममा वीरगाथा गाइने, तलवार–ढालको करतब देखाइने र हुडका, दमाहा, घुँघरु बजाइन्थे । कलाकारले टाउकोमा पगडी, शरीरमा भोटो, सेतो झकुलो र विशेष गहना–सामानसहित नृत्य प्रस्तुत गर्थे ।
लोकसंस्कृतिविद्हरूका अनुसार हुडकेली नृत्य डोटी–कुमाउँको इतिहाससँग जोडिएको छ । परापूर्वकालमा युद्ध जितेपछि खुसीयालीस्वरूप हुडकेली लगाउने प्रचलन थियो । यो केवल नेपालमै नभई भारतको कुमाउँ–गढवालसम्म लोकप्रिय थियो ।
मानसिं भण्डारीका अनुसार हुडकेली १८०१ सालभन्दा अघिदेखि अस्तित्वमा थियो । कुमाउँ अम्मरगढीका राजा त्रिपाल चन्दको जीवनमा आधारित गीतिकथा हुडकेलीको सुरुवातमै गाइने भएकाले यसलाई भारतबाट भित्रिएको प्रमाण मानिन्छ । यसले धार्मिक आस्था, सामाजिक सद्भाव र वंशावलीको विवरण समेत प्रस्तुत गर्ने बताइन्छ ।
हुडकेलीमा डोटेली इतिहासका शोभी रावत, विगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुवुजु रौतेला, पिरी बोहरा, सङ्ग्राम कार्की, दीपा ऐर, लाली साउनलगायत वीर–वीराङ्गनाका कथा गाइन्छ । नृत्यलाई अझ आकर्षक बनाउन कलाकारले साहसी कला पनि देखाउँथे, जस्तै आँखाको परेलाले सियो वा पैसा उठाउने ।
गोरे दमाईजस्ता लोकसंस्कृतिका जानकारहरू भन्छन् – “हुडकेली लोप हुँदै गएको देखिन्छ तर समाज, स्थानीय तह र सांस्कृतिक निकायले यसको जगेर्नातर्फ खासै ध्यान दिएका छैनन् ।” भीम दमाईका अनुसार यदि नयाँ पुस्ताले यो कला सिकेन भने केही वर्षमै हुडकेली केवल किताबका पानामै सीमित हुनेछ ।
हुडकेली केवल नृत्य मात्र नभई वीरगाथा, इतिहास, समाज र संस्कृतिको पहिचान बोकेको धरोहर हो । तर, संरक्षण र पुस्तान्तरणको पहल नहुँदा यो गौरवमय कला लोप हुने खतरा बढ्दो छ । रासस
