

अत्तरिया- कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठनका लागि अभिभावक प्रतिनिधि चयन भएका छन् । विद्यालय स्रोतका अनुसार अभिभावक तर्फबाट भुवन भट्ट, यज्ञराज भाट, लोकराज भट्ट र यसोदा भट्ट चोखाललाई प्रतिनिधिका रूपमा चयन गरिएको हो ।


सुरुमा ५१ जना आकांक्षी रहेका भए पनि लामो छलफल र सहमति प्रक्रियापछि बिहीवार राति मात्रै ४ जना प्रतिनिधि टुंगो लागेका हुन् । विद्यालयका अनुसार करिब २५ सयभन्दा बढी अभिभावकको प्रतिनिधित्व गर्ने सहमतिमूलक प्रक्रियामार्फत अन्ततः नाम तय गरिएको हो ।



अब व्यवस्थापन समितिमा थप रूपमा नगरपालिकाबाट २ जना र वडाबाट १ जना सदस्य रहने प्रावधान छ । यसरी समिति ७ सदस्यीय भएपछि मात्र कानुनी व्यवस्थाअनुसार अध्यक्ष चयन हुने प्रक्रिया अघि बढ्नेछ ।
यसअघि श्रावण १० गते बसेको अभिभावक भेलापछि निरन्तर छलफल भए पनि सहमति जुट्न नसकेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापनमा अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक देखिएकाले लामो समयको प्रयासपछि बिहीवार राति मात्रै सहमति प्राप्त भएको हो ।
विद्यालयका पदाधिकारीका अनुसार अबको केही दिनभित्र अध्यक्ष चयन प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ ।





