अस्थायी प्रहरी पोष्ट बडेहाका इन्चार्ज बोगटी निलम्बित

Dadeldhura hospital

अत्तरिया, २ भदौ : कैलालीको गोदावरी नगरपालिका वडा नं ६ मा रहेको अस्थायी प्रहरी पोष्ट बडेहाका इन्चार्ज सहायक निरीक्षक (असई) लाई निलम्बन गरिएको छ ।
गोदावरी ८ फकलपुरकी एक बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाइएको आरोप लागेपछि बडेहामा कार्यरत प्रहरी सहायक निरीक्षक दिल बहादुर बोगटीलाई निलम्बन गरिएको हो ।
घटनाको छानबिनका लागि समिति गठन भएको र छानबिन प्रभावित नहोस भन्नका लागि बोगटीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ । सो घटना छानबिनका लागि इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

सो समितिमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्धय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्का सदस्य छन् । गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो । सो घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाइएका थियो ।

Loading...