अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ४ खुरखुरियामा रहेको त्रिवेणी ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिदैँ छ । वडा नम्बर ४ मै रहेको त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहले ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिरहेको हो ।
ताल त्रिवेणी सामुदायिक वन भित्र नै पर्दछ । त्रिवेणी सामुदायिक वन कार्यलयका सचिव गोविन्द राज विनाडीले वनको संरक्षणसंगै तालको विकासमा जोड दिएको बताए । २०७८ सालमा स्थापना भएको त्रिवेणी सामुदायिक वनको कूल क्षेत्रफल २२०.३९ हेक्टर रहेको छ । वनले २ सय जना भन्दा बढी उपभोक्ताहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
वनको मुख्य आकर्षणका रूपमा त्रिवेणी ताल, रारा ताल र ठिमी तालको विकास भइरहेको छ । पर्यटकलाई आकर्षित गर्न त्रिवेणी तालमा ६.५ हेक्टर क्षेत्रफलको पर्यटकीय स्थल निर्माणको काम अघि बढाइएको छ । त्रिवेणी वन भित्र रारा ताल (१.३९ हेक्टर) र ठिमी ताल (०.०९ हेक्टर) को पनि रहेका छन् । त्रिवेणी तालमा पर्यटकको आकर्षण गर्न वरिपरि रिङरोडका परिकल्पना गरिएको छ । त्यसका लागि ग्राभेल गर्ने कार्य सुरु भईसकेको छ । तालमा आकर्षक काठे पुल पनि निर्माण गरिएको छ । ताल वरिपरि ठाउँ–ठाउँमा विश्राम गृह पनि निर्माण गरिएको छ ।
वन क्षेत्रमा गाई संरक्षणका लागि कान्जी हाउस पनि निर्माण कार्य अगाडि बढाएको छ । कान्जी आउसमा २० भन्दा बढी छाडा गाईगोरुहरूको संरक्षणमा समेत वनले गरिरहेको छ । वातावरणीय संरक्षणका लागि साल, अस्ना लगायत विभिन्न प्रजातिका बोटबिरुवाहरूको वृक्षारोपणमा वनले प्राथमिकता दिँदै आएको छ ।
सामुदायिक वनले वन अतिक्रमण रोकथाम र संरक्षणमा विशेष ध्यान दिएको कार्यालय सचिव विनाडीले बताए । साथै, पर्यटकलाई मनोरञ्जनको थप सुविधा प्रदान गर्न भ्यू टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्यटकीय स्थलका रूपमा आकर्षक बनाउन त्रिवेणी मन्दिर, पिकनिक स्थल, शौचालय तथा अन्य भौतिक संरचनाहरूको निर्माण सम्पन्न भइसकेको छ ।
कार्यालय सचिव विनाडीका अनुसार सामुदायिक वनले वातावरण संरक्षण र पर्यटकीय क्षेत्र विकासको लक्ष्य लिई आगामी दिनमा थप संरचना विस्तार गर्ने योजना रहेको छ । स्थानीय बासिन्दाहरूले यस वनलाई आफ्नो आम्दानीको स्रोतसँगै पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्न सहयोग गरिरहेका छन् । ‘वन संरक्षणका लागि तारबार गर्ने देखि खाली ठाउँमा वृक्षारोपणका कार्यहरु भईरहको छ’’ कार्यालय सचिव विनाडीले भने । ‘त्यसले गर्दा अहिले धेरै खाली ठाउँ पनि हरियाली भएका छन् ।’ वनको संरक्षण हुँदा उपभोक्ताले अहिले सजिलै घाँस दाउराको उपभोग गर्न पाएको उनको भनाई रहेको छ ।