सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम शुरु

चुरेमा करिब १५ किलोमिटर सडक कालोपत्रे हुँदै

धनगढी- सुदूरपश्चिम प्रदेशका दुई स्थानीय तहबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम शुरु हुन लागेको छ । कैलाली र कञ्चनपुरका दुई स्थानीय तह जोड्ने सडक स्तरोन्नतिबाट कार्यक्रमको सुरुवात गरिन लागेको हो ।

बिश्व बैकंको श्रृण सहयोगमा कैलालीको चुरे गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिका जोड्ने सडक स्तरोन्नतीको प्रक्रिया अगाडी बढाइएको छ । प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम कार्यान्वयन इकाइले आवश्यक प्रकृया पुरा गरी सम्बन्धित जिल्लाका पूर्वाधार विकास कार्यालयहरूलाई कार्यान्वयनको जिम्मा दिने छ ।

बिश्व बैकंको श्रृण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत कैलालीको चुरे गाउँपालिका केन्द्र हुँदै निगाली सम्म सडक स्तरोन्नति हुन लागेको छ ।

चुरे गाउँपालिका सहजपुर देखी पालिका केन्द्र हुँदै निगाली सम्म सडक स्तरोन्नती हुन लागेको छ । सहजपुर देखी चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाई र त्यसपछि सिगंल लेन सडक कालोपत्रे हुने प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन इकाई धनगढीका प्रमुख जगत राज जोशीले बताए ।

चुरे गाउँपालिकामा सो कार्यक्रम अन्तरगत १४ दशमलव ८–५ किलोमिटर सडक स्तरोन्नति हुने उनको भनाई छ । यसका साथै कञ्चनपुरको लालझाडी गाउँपालिका केन्द्र जोड्न चानदेव बजार देखी १३ किलोमिटर सडक स्तरोन्नति हुने उनले बताएका छन् । सडक स्तरोन्नतिका लागी वातावरणीय र सामाजिक अध्ययन अन्तिम चरणमा रहेको छ । यसका साथै ठेक्का आवह्वान गरी सम्झौता प्रक्रिया समेत अन्तिम चरणमा रहेको छ ।

सडक क्षेत्रमा पर्ने रुख कटानका लागी आवश्यक प्रक्रिया शुरु गरेको बताउँदै प्रमुख जोशीले अबको दुई महिनाभित्र फिल्डमा काम शुरु हुने दावी गरे । सो सडक निर्माण सकेको ५ वर्षसम्म मर्मत पनि निर्माण कम्पनिले नै गर्नुपर्ने गरी सम्झौता गरिन लागेको छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुदूरपश्चिम प्रदेशमा १५ वर्ष सञ्चालन हुने छ । सो कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशमा पालिका केन्द्रसम्म समेत सडक नपुगेका स्थानीय तहमा सडक जोड्ने र स्तरोन्नति गरिने छ ।

जस अनुरूप पहिलो चरणमा कैलालीको चुरे र कञ्चनपुरको लालझाडीमा कार्यक्रम लागु भएको छ । चुरे गाउँपालिकाले सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने अथवा स्थानीय सँग सहजिकरण गर्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष चक्र बोगटीले बताए । यस कार्यक्रममा स्थानीय तहले गर्नुपर्ने ५ प्रतिशत लगानीमा पालिकाले बजेट बिनियोजन गरेको बताउँदै उनले सामुदायिक बन र अन्य सरोकारवाला सँग समन्वय गरिरहेको दावी गरे । सबैभन्दा बढी काम प्रदेश सरकारकै रहेको बताउँदै अध्यक्ष बोगटीले पालिकाले गर्नुपर्ने काममा पछि नहट्ने स्पष्ट पारेका छन् ।

मुख्य राजमार्ग बाहेक कालोपत्रे सडक बिहिन रहेको चुरे गाउँपालिकामा सडक स्तरोन्नति हुने खबर सुनेपछि स्थानीय हर्षित छन् । कृषि तथा फलफूलको हब भनेर चिनिने चुरेमा पिच सडक पुगे यहाँको उत्पादित तरकारी तथा फलफूलले सहजै बजार पाउने चुरेका किसान राम बहादुर धामीले बताए । खै सडक बन्ने त सुनेको हुँ उनले भने “अहिले सम्म केही शुरु भएको छैन, यदी सडक पिच बने हामी किसानहरूलाई त सबै भन्दा बढी फाइदा हुने छ, हाम्रा सुन्तलाले उचित मूल्य पाउने छ, सबैलाई धेरै राम्रो हुन्छ ।”

स्थानीय नागरिक सडक कालोपत्रेको काम सुचारु हुने पर्खाइमा छन् । विगतमा सडक बिना हिँडेरै दुई दिन लाएर पछि गाउँ जानुपरेको स्थानीय अटो चालक धन बहादुर धामी बताउँछन् । त्यसपछि कच्ची सडक बनेपछि बर्खामा सधैँ दुख खेप्नुपरेको सुनाउँदै पिच सडक बने दुख खेप्नु नपर्ने बताउँछन् । सडक स्तरोन्नतिका लागी दिइएको समय दुई वर्ष भित्रै काम सकिए यहाँका नागरिक आर्थिक रुपमा सबल बन्ने उनको अपेक्षा छ ।

सुगम जिल्ला कैलालीको दुर्गम पालिकाका रुपमा रहेकोे चुरे गाउँपालिकामा सडक स्तरोन्नतिको खबर सुनेपछि स्थानीय खुशी छन् । स्थानीय क्षेत्रमा उत्पादित तरकारी तथा फलफूलले बजार नपाइरहेका बेला सडक पिच भएपछि उचित मूल्य पाउने अपेक्षामा चुरेका बासिन्दाहरुकाे रहेकाे छ । 

Loading...