मनाइँदै गौरा, हराउँदै मौलिकता

बैतडी- सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा धार्मिक पूजाआराधनाका साथै एक आपसमा सामाजिक सद्भाव साटासाट गरेर हर्षोल्लासका साथ मनाइएको छ ।

सुदूरपश्चिमका अतिरिक्त विभिन्न पेसा, व्यवसाय तथा रोजगारीको सिलसिलामा देशविदेशमा रहेका सुदूरपश्चिमेलीले गौरामाताको पूजाआजा तथा न्याउल्या र देउडा खेल खेलेर गौरा पर्व मनाएका छन् ।

पहाडी जिल्लाका गाउँबस्तीमा गौरा पर्वको चहलपहल सुरु भएसँगै यसको मौलिकता भने मासिँदै जान थालेको छ । पर्वहरूको दैलो उघार्ने चाडका रूपमा मनाइँदै आएको गौरा पर्वमा प्रसादका रूपमा ग्रहण गरिने बिरुडा (पञ्च अनाज) र दुब धागो भारतबाट आयात हुने गरेको छ ।

गौरामा लगाइने मौलिक पोसाक घाँगरो (गुन्यु), आङ्डो (चोली) को स्थान बनारसी सारीले ओगट्न थालेको छ । मौलिक गहना ठोका, पैँणा, बाला, कण्ठश्री, मुगाको माला, चवन्नी माला हराइसकेका छन् । त्यस्तै गौरा पर्वमा गाइने मागल, फाग र धमारी हराउन थालेका छन् ।

बिरुडाका लागि गाउँमै फलेको दलहन गँरुस, कलौँ ‘केराउ’ डालोमा सुरक्षित राख्ने गरिन्थ्यो । पछिल्लो समय मास, गहत, गुरुस, कलौँ (सानो केराउ) जस्ता दलहनका वस्तु उत्पादन घटेकाले बिरुडामा प्रयोग हुने वस्तु भारतबाट आयात हुने गरेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।

पञ्चमीका दिन तामाको भाँडामा भिजाएको बिरुडा (मास, गहत, गुरुँस, केराउ, गहुँ) सप्तमीका दिन डालोमा राखेर गौरा पर्व आरम्भ हुने गर्छ । गौरा पर्वमा बिरुडाको डालोलाई पार्वतीको प्रतिमाका रूपमा व्रतालु महिलाले घाँटीमा दुबधागो लगाएर गौरा नचाउने चलन छ ।

आफ्नै मौलिक पर्व मनाउन पनि भारत र चीनमा निर्भर हुनुपर्ने अवस्था आउनु दुःखको कुरा भएको संस्कृतिविद् पण्डित ज्योतिष गणेशप्रसाद पन्तले बताए । उनले भने, “बिरुडा भारतबाट आइरहेको छ । जनै र दुबधागो चीनबाट आयात भइरहेको छ ।”

जनैपूर्णिमाका दिन पुरुषले जनै फेरे जस्तै विवाहित महिलाले गौरा पर्वमा दुबधागो फेर्ने चलन छ । घाँटीमा लगाइने रातो, पहेँलो र सेतो रङको धागोलाई दुबधागो भन्ने गरिन्छ ।

Loading...