कञ्चनपुर- कञ्चनपुर र कैलाली ३१ वटा खोला नदीमा तटबन्ध निर्माण गरिएको छ । गत आर्थिक वर्षका लागि कैलालीमा २८ र कञ्चनपुरमा ७ तटबन्धका योजना मध्ये ३१ वटाको काम सम्पन्न भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको हो ।
गत आवमा कैलालीमा २५ र कञ्चनपुरमा ६ गरी ३१ वटा खोला नदी किनार कटान नियन्त्रण तथा रोकथामका लागि तटबन्धको काम भएको कार्यालय प्रमुख श्याम कुमार श्रेष्ठले जानकारी दिए । २ जिल्लाका ३५ वटा खोला तथा नदी कटान नियन्त्रण गर्न गत आवमा विनियोजित कुल ३ करोड ५० लाख मध्ये ३ करोड १० लाख खर्च भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ ।
तटबन्धका प्रत्येक योजनामा रु १० लाख बजेट रहेको कार्यालय प्रमुख श्रेष्ठले बताए । सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा नदी कटान निणन्त्रण गर्न प्रत्येक वर्ष विनियोजन गरिँदै आएको बजेट पर्याप्त नभएको उनको भनाइ छ । कैलाली र कञ्चनपुर कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समितिमार्फत तटबन्धको काम गरेको जनाएको छ । कार्यालयका अनुसार कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा तटबन्धको काम भएको छ ।
यस्तै कैलालीको मोहन्याल गाउँपालिकाका वडा नं ३, ५, ६, गोदावरी नगरपालिका–४ हाटखोली, वडा नं ७ को बगरटोल, भजनी नगरपालिका वडा नं ४, ५, ६ कान्द्रा नदीमा तटबन्धको काम भइरहेको छ । धनगढी उपमहानगरपालिका वडा नं ५ सुकुटीखोला, वडा नं ३, १९, १२ स्थित मोहना नदी, वडा नं १७, १६ तथा घोडाघोडी नगरपालिका–५ र ९ स्थित कान्द्रा नदीमा तटबन्धको काम भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।
भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनःउत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षण लगायत क्षेत्रमा काम गर्दै आएको जनाएको छ । कैलालीमा खुटिया, मोहना, कान्द्रा, कर्णाली नदी र कञ्चनपुरमा दोदा, स्याली, महाकालीलगायत नदीले सबै भन्दा बढी खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।
ती नदी तथा खोलामा सङ्घीय सरकार अन्तर्गतका कार्यालयले तटबन्ध गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।