अत्तरिया- बजेट शून्यताका कारण आम्दानी र खर्च दुवै रोकिएपछि सुदूरपश्चिम प्रदेशमा पूर्वाधार विकासका काम ठप्प भएका छन्। आधा महिना भन्दा बढी बजेट शून्यता भएर सबैतिर अस्तव्यस्त हुँदा पनि राजनीतिक दलहरु रमिते बनेका छन् ।
बजेट शून्यताका कारण योजनाहरुको पूर्वतयारी, क्रमागत योजना र बहुवर्षीय योजनाको काम प्रभावित भएको छ । भुक्तानी दिन बाँकी रहेका र थप स्रोत सुनिश्चितता गरी अगाडि बढाउनु पर्ने पूर्वाधार विकासका काम रोकिएको पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमले बताए । उनका अनुसार प्रदेश सरकारसँग खर्च गर्ने आधार नरहेको र आगामी दिनमा पनि बजेट पर्ने–नपर्ने अन्योलले निर्माण कम्पनीहरुले काम सुस्त बनाएका छन् ।
‘कतिपय कामहरु बर्खाका कारणले प्रभावित भएका छन्,’ सचिव बमले भने, ‘भुक्तानी दिन बाँकी रहेका योजनाको काम बजेट नभएका कारणले रोकिएको छ । कतिपय योजनाहरुको पूर्वतयारी गर्नुपर्ने थियो । बजेट नहुँदा ती योजनाको काम पनि हुन सकेको छैन ।’ सचिव बमका अनुसार काम भइसकेका योजनाहरुमा भुक्तानी दिन सकिएको छैन । ती योजनाहरुमा काम गरिरहेका निर्माण कम्पनीहरुले थप काम रोकेका छन् । ‘भुक्तानी दिने कानुनी आधार पनि भएन । मौसमले नयाँ काम साउनमै शुरु गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘बहुवर्षीय र क्रमागत योजनाहरुमा काम भइसकेका छन् । ती योजनाको भुक्तानी दिन सकिएको छैन । धनगढीकै फोर लेन सडकको भुक्तानी दिन सकिएको छैन । कैलाली, बैतडी, अछाम, डोटीमा काम भएका तर भुक्तानी दिन नसकिएका थुप्रै योजना छन् । ती योजनाहरुमा थप काम रोकिएको छ ।’
क्रमागत र बहुवर्षीय योजनाहरुमा थप गर्नुपर्ने ठेक्का प्रक्रिया पनि रोकिएको छ भने केही योजनाको स्रोत सुनिश्चितता नहुँदा पूर्वतयारीको काम पनि प्रभावित भएको छ । ‘बजेट पास नभएका कारण स्रोत सुनिश्चितता नहुँदा पूर्वतयारीको कामहरु पनि रोकिएको छ,’ सचिव बमले भने, ‘वैधानिक रुपमा तयारी गर्न नपाएपछि मान्छे हच्किन्छ नि ।’
काम गरे भुक्तानी पाउने आधार सुनिश्चित नभएका कारण निर्माण कम्पनीहरु हच्किएका छन् । प्रदेश सरकारले निर्माण गरिरहेको धनगढीको मेनरोडको कैलाली पुल–क्याम्पस रोड खण्डको काम अहिले सुस्त भएको छ । निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले मुख्य निर्माण कार्य रोकेको छ । केएस कन्स्ट्रक्सनका सुरेन्द्र पालले बर्खा लागेका कारण मेन रोडको काम प्रभावित भएको बताए । उनले निर्माण सामग्री सकिएको र बर्खाको बेला काम गर्न असहज भएकाले थोरै जनशक्ति खटाएर पानी निकासको काममात्रै गरिरहेको जानकारी दिए । भदौ पहिलो साताबाट सडक निर्माण कार्य पुनः शुरु गरिने उनले बताए ।
५१ करोड ६८ लाख रुपैयाँमा फोर लेन बनाउन ठेक्का लगाइएको सो २.३ किलोमिटर सडक केएस कन्स्ट्रक्सनले सबबेस निर्माणको काम लगभग सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्मको एक साइड र एलएन चोक देखि कैलाली पुलसम्म दुवै साइडमा सबबेस बनाउने काम बाँकी छ । सबै ठाउँमा सबबेस बनिसकेपछि बेस बनाउने र बेस बनिसकेपछि यसै आर्थिक वर्षभित्रै कालोपत्रे गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालयका साइड इञ्जिनियर दुर्गाप्रसाद अवस्थीले बताए ।