विपद् व्यवस्थापनमा अन्तरपालिका अनुभव आदानप्रदान

टीकापुर- विपद् व्यवस्थापनका लागि कैलाली र बर्दियाका पालिका बीच असल अभ्यास आदानप्रदान भएका छन् ।

कैलालीको टीकापुरमा भएको कार्यक्रममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकाका विपद् शाखा संयोजक लगायतका प्रतिनिधि सहभागी थिए । टीकापुर नगरप्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाले गरेका असल अभ्यास, एक अर्काका सिकाइ आदानप्रदान गरिएको थियो ।

अन्तरपालिका बीच भएको छलफलमा विपद्का समयमा कैलाली र बर्दियाका पालिका बीच समन्वय गर्ने कुरामा छलफल भएको थियो । यस अघि आगलागी जस्ता घटनामा दमकल सहायता कार्यमा सहकार्य गर्दै आएका बर्दियाको राजापुर, गेरुवा, टीकापुर, जानकी, भजनी जस्ता पालिकाले आउँदा दिनमा बाढीजन्य विपद्मा पनि सहकार्य गर्ने बताएका छन् । बाढी आइहालेमा एकअर्का पालिकामा रहेको जनशक्ति, खोज तथा उद्धारका सामग्री सघाउने बताएका छन् ।

बर्दियाको गेरुवा गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति कृष्ण सोडारीले गेरुवाका ६ वटै वडा कर्णाली र गेरुवा नदीको जोखिममा रहेका बताए । ७ हजार ७ सय ६२ घरपरिवार तथा ३३ हजार जनसङ्ख्या रहेको गेरुवा गाउँपालिकामा सनकट्टी, वनकट्टी, गेरुवा गाउँ, राजीपुर, शान्तिबजार लगायतका क्षेत्रमा डुबानको जोखिम रहेको बताए । ‘विपद् व्यवस्थापन कोषमा ७० लाख रकम छ, त्यही कोषबाट राहत, उद्धार तथा विपद् व्यवस्थापनमा काम गर्छौँ’, उनले भने, ‘पालिकाका सबै वडा विपद्को जोखिममा छन् । यस वर्ष बढी वर्षा हुने भनिएकाले अहिलेदेखि नै पूर्वतयारीमा जुटेका छौँ ।’

जानकी गाउँपालिका विपद् सम्पर्क व्यक्ति नेत्र प्रसाद जैशी पालिकाले बाढीलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । पालिकाले आगामी वर्षका लागि कुल बजेटको १० प्रतिशत बजेट सुनिश्चित गरेको र विपद् व्यवस्थापन कोषमा ५० लाख रकम व्यवस्था गरेको जानकारी दिए । 

‘जानकीमा बाढीको जोखिममा रहेकालाई मौसम पूर्वानुमान सम्बन्धी सूचनाका आधारमा अग्रिम नगद सहायता वितरणका लागि तथ्याङ्क लिने काम भइरहेको छ’, उनले भने, ‘बाली बीमामा किसानलाई जोड्ने र स्थानीय पाठ्यक्रममा विपद्का कुरा, विपद् डायरी निर्माण जस्ता कार्य गरेका छौँ ।’ पालिकाका अनुसार जानकीमा ८ सय ९३ घरपरिवार बाढीको जोखिममा छन् ।

टीकापुरमा सातवटा संस्थाले विपद्मा काम गरिरहेका छन् । टीकापुरमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको नियमित बैठक बस्ने गरेको छ । टीकापुर नगरपालिका विपद् सम्पर्क व्यक्ति निर्मला चौधरीले टीकापुरले बाढीको मापनका लागि स्थानीय ‘गेज स्केल’ राखेका, खोज तथा उद्धारमा सहजताका लागि ‘ड्रोन क्यामेरा’ खरिद गरेको बताए । 

‘यसका साथै सर्पदंशसम्बन्धी रिपोर्टिङ गर्ने, जनचेतना जगाउने कार्य गरिरहेका छौँ’, उनले भने, ‘आगलागीका घटना हुँदा आफ्नै लगानीमा अन्य पालिकालाई पनि दमकल सेवा दिइरहेका छौँ ।’

बाढीको पूर्वतयारीका लागि टीकापुर नगरपालिकामा ११ उच्च भवन छन् । दुई वटा सामग्री भण्डारण कन्टेनर, ५० थान त्रिपाल, एक सुरक्षित उच्च अन्न भण्डार, वडा नं ५ मा तीनवटा अन्न बैंक स्थापना, समुदायको अगुवाइमा जैविक तटबन्ध निर्माणजस्ता कार्य भएका छन् । इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भूमिश्वर पोखरेलले पूर्वतयारी गर्न सामग्री र जनशक्ति अभाव हुन नदिनेमा सचेत रहन सुझाव दिए ।

विपद्मा एक अर्कालाई दोष दिनु भन्दा मिलेर काम गर्न र पूर्वसूचना संयन्त्रको प्रयोग बढाउनु पर्ने बताए । इलाका प्रहरी कार्यलय टीकापुरमा प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले विपद् रातिको समयमा समेत आउन सक्ने भएकाले हरेक समयमा प्रतिकार्यमा खटिने गरी तयारी गर्नु पर्नेमा जोड दिए । 

कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले समन्वय बैठकले एकअर्कासँग समन्वय हुने गरेको बताए । जानकीले दमकल खरिद गर्ने नीति लिएको बताउँदै अहिलेसम्म टीकापुरको प्रयोग गरिरहेका बताए । ‘केन्द्रले राम्रो अभ्यास गरिरहेका पालिकाको अनुभव ‘सेयरिङ’ गर्ने गरेको छ ।

म पनि केही कार्यक्रममा सहभागी भएको छु’, उनले भने, ‘राम्रो गर्न कोसिस गरिरहेकालाई आवश्यक उपकरण सहयोग गर्नतिर ध्यान दिएको देखिँदैन । असल अभ्यास गरिहेकालाई बलियो बनाउनतिर ध्यान दिनुपर्छ ।’ अध्यक्ष चौधरीले विपद्बाट जोगिन समुदाय नै बलियो हुन आवश्यक रहेको बताए । रासस

Loading...