धनगढी- धनगढी उपमहानगरपालिकाको अद्यावधिक बेरुजु ३२ करोड बढी देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार हालसम्म धनगढी उपमहानगरपालिकाको बेरुजु ३२ करोड ४८ लाख ७१ हजार पुगेको छ ।
आर्थिक वर्ष २०७९/०८० मा उपमहानगरपालिकाको बेरुजु ४ करोड ५२ लाख ९३ हजार देखिएको छ । सो मध्ये १ करोड ९६ लाख ५७ हजार प्रतिक्रियाबाट फछर्यौट भई बाँकी बेरुजु असुल गर्नुपर्ने ९२ लाख ३ हजार रहेको छ ।
प्रमाण कागजात पेस गर्नुपर्ने १ करोड ४५ लाख ६४ हजार, नियमित गर्नुपर्ने ७२ हजार, पेश्की बाँकी १७ लाख ९७ हजार समेत गरी २ करोड ५६ लाख ३६ हजार रहेको छ । उपमहानगरपालिकाको गत वर्षसम्म ३६ करोड ७ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा ६ करोड १८ लाख ७९ हजार सम्परीक्षण भई कायम बेरुजु ४ लाख गरी हालसम्मको ३२ करोड ४८ लाख ७१ हजार रहेको छ ।
७ जनाले लिए दोहोरो भत्ता
महालेखा परीक्षकको प्रतिवेदन अनुसार उपमहानगरमा सामाजिक सुरक्षा भत्ता अन्तर्गत ७ जनाले दोहोरो भत्ता लिएको पाइएको छ । सामाजिक सुरक्षा नियमावली २०७५ को नियम १३ मा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गर्न नहुने तथा मृत्यु भइसकेका लाभग्राहीको विवरण मूल अभिलेखबाट कट्टा गर्नु पर्ने ब्यवस्था भएपनि नमुना परीक्षणको क्रममा पालिकाले ७ जनालाई दोहोरो भत्ता दिएको पाइएको छ ।
दोहोरो भत्ता पाउनेमा धनगढी उपमहानगरपालिका १२ का तेजराम राजी, वडा नम्बर २ का गितादेवी चौधरी, कलावती पन्त, वडा नम्बर ७ की तुलसी राना थारू, गुमनी राना, कलावती राना थारू, वडा नम्बर ३ का गंगा राना रहेका छन् । उनीहरूको नाममा आर्थिक वर्ष २०७९/०८० मा १ लाख ७५ हजार २ रुपैयाँ बढी निकासा भएको पाइएकोले असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।